१ कार्तिक २०८३, शनिबार

वैद्यको अबको बाटो के ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mohan Baidhya

समाचार टिप्पणी

काठमाडौं, १४ असोज । २०४५ सालतिरै एक असफल सशस्त्र विद्रोहको नेतृत्व गरेका कारण आलोचित बनेका थिए, मोहन वैद्य । ‘सेक्टर काण्ड’का नामले चर्चित उक्त घटनाले उनको राजनीति छविमा क्षति पुर्‍यायो जसका कारण उनले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (मशाल) को महामन्त्रीबाट राजीनामा दिनुपर्‍यो । तत्कालिन नेकपा (मशाल) ले गर्न खोजेको सशस्त्र विद्रोहले वैद्यको राजनीतिक सोच र सांगठनिक क्षमतामा प्रश्न उठाइदियो । मशालको एक समूहबाट नै पछि गएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी) निर्माण भएको थियो । सेक्टर काण्ड उसले ६ बर्षपछि जनयुद्ध सुरु गर्नभन्दा अघि सशस्त्र विद्रोहको पहिलो अनुभव बनेको थियो ।

नयँ“ धार ग्रहण गरेलगत्तै पञ्चायती व्यवस्थाकाविरुद्ध जनआन्दोलन चर्काउने उद्देश्यका साथ मशालले सशस्त्र विद्रोहमा होमिन र पञ्चायतको चुनाव बहिस्कारका लागि आह्वान गर्‍यो । विसं २०४५ चैत्र १९ गते काठमाडौंको त्रिपुरेश्वरमा रहेको राजा त्रिभुवनको शालिकमा कालो पोतियो र केही प्रहरी चौकीहरूमा मशालले आक्रमण्ँ गर्यो । पञ्चायतको चुनावलाई असफल बनाउन भन्दै सुरु गरिएको सशस्त्र अभियान तुहिएपछि वैद्य नेतृत्वबाट राजीनामा दिन बाध्य भए । तै पनि उनी २०५१ सालबाट माओवादीले सुरु गरेको जनयुद्धको एउटा सुत्रधार नै थिए । उनको समेत नेतृत्वमा भएको उक्त हिंसात्मक युद्धले मुलुकलाई पचासौं वर्ष पछाडि पुर्‍याइदियो । त्यसको महसुस माओवादी भित्र भएकै कारण तत्कालीन सात राजनीतिक दलस“ग उसले १२ बु“दे सहमतिमार्फत् शान्तिप्रक्रियाको बाटो समात्यो । बाटो बिराएको माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र नेता झलनाथ खनालको ठूलो भूमिका थियो ।

माओवादीले १२ बुँदे सहमति गर्दा वैद्य भारतीय जेलमा थिए । जेलबाट छुटेपछि उनले शान्तिप्रक्रियालाई ‘जनयुद्धमाथि गरिएको धोका’को संज्ञा दिए । १२ बुँदे सहमति, १९ दिने जनक्रान्तिजस्ता ऐतिहासिक परिघटनाको आवश्यकता र अपरिहार्यता उनले बुझ्न सकेनन् । मुलुक संविधानसभामार्फत् संविधान निर्माणको अभियानमा होमियो । तर, वैद्य संविधानसभाबाट संविधान बनाउन चाहँदैन थिए । त्यसैले पहिलो संविधानसभाबाट उनले राजीनामा दिए । उनी आवद्ध पार्टी एकीकृत नेकपा माओवादीकै कारण पहिलो संविधानसभा विघटन भयो । एमाले र कांग्रेसले पुनः जनताको संविधान प्रतिको चाहना पूरा गर्न एमाओवादीलाई दोस्रो संविधानसभामा जान बाध्य पारे । तर त्यतिबेलासम्म एमाओवादी परित्याग गरिसकेका वैद्य नेतृत्वको पार्टी नेकपा–माओवादीले संविधानसभाको निर्वाचन बहिस्कार गर्‍यो । बहिस्कार मात्र होइन, निर्वाचन हुन नदिन, निर्वाचनमा जनतालाई सहभागी हुन नदिन बम विस्फोट गराउने, उम्मेदार अपहरण गर्ने, आक्रमण गर्ने, गुडिरहेको बसमा पेट्रोल बम हान्ने जस्ता अपराधिक गतिविधि गर्‍यो ।

वैद्यले बहिस्कार गरेको निर्वाचनमा जनताको सानदार सहभागिता भयो । ऐतिहासिक रुपमा मंसिर ४ गते जनताले आफ्नो मताधिकार व्यक्त गरे, वैद्य माओवादी संविधानसभाबाट बाहिरियो । यो प्रक्रियाबाट पूरै बाहिरिए पनि उसलाई पनि संविधान निर्माणमा सहभागी गराउनुपर्छ भनेर एमालेका शीर्ष नेताहरूले कांग्रेस नेतालाई सहमत गराए र वैद्यले नै भनेजस्तो सर्वदलीय राजनीतिक सभा ९गोलमेच० गर्ने निर्णय भयो । तर अन्तिममा गोलमेचको माग गर्ने वैद्यकै पार्टीले भाग नलिएपछि गोलमेच भाँडियो । यसले वैद्य माओवादीको नियत स्पष्ट भएको छ । वैद्य माओवादी जसले संविधानसभा निर्वाचन बहिस्कार गरेको थियो, उ कुनै न कुनै बहानामा यो प्रक्रियालाई डिरेल गराउन चाहन्छ भन्ने पुनः पुष्टि भएको छ ।

माघ ८ गतेभित्र नयाँ संविधान जारी गर्ने तयारीमा रहेका राजनीतिक दलहरूलाई अल्मल्याएर संविधान निर्माणको कार्यतालिका प्रभावित पार्ने नियोजित षड्यन्त्रमा वैद्य माओवादी रहेको अब पुष्टि भएको छ । भदौ २१ गतेभित्र संविधानका विवादित विषयमा सहमति गुटाउनुपर्ने समयसीमा नजिक आएका बेला वैद्यले गोलमेचको कुरा जोडले उठाएका थिए । वैद्यलाई पनि यो प्रक्रियामा ल्याउने भनेर समयसीमा सकिए पनि प्रक्रियामा प्रवेश नगरी कांग्रेस–एमाले म्याद थप गर्न राजी भएका हुन् । अब वैद्यको उद्देश्य स्पष्ट भइसकेकाले प्रक्रियामा प्रवेश गर्न कुरिरहनुपर्दैन । त्यसो गरिएन र फेरि पनि उसलाई सहमतिमा ल्याउन भन्दै समय थपिरहने काम भयो भने संविधान निर्माणको कार्यतालिका प्रभावित हुनेछ । त्यसबेला तोकिएको समयमा संविधान बनाउन सत्तासिन दल असफल हुने मात्र होइन, संविधान निर्माणको अभियान भाँडेर मुलुकमा अस्थिरता कायम गर्न वैद्य माओवादी सफल हुनेछ ।