काबुल, १३ असोज । अफगानिस्तानमा सोमबार नयाँ राष्ट्रपतिको शपथका लागि भव्य समारोहको आयोजना गरिएको छ ।
संयुक्त राज्य अमेरिकामा अध्ययन गरेका पूर्वप्राज्ञिक व्यक्तित्व असरफ घानीले अफगानिस्तानमा नयाँ राष्ट्रपतिको सपथ लिँदै छन् ।
अफगानिस्तानका करिब १३ वर्षदेखि त्यहाँको तालिबानविरुद्धको कारबाहीका लागि काम गरिरहेको नेटो सैनिकले यसै वर्षको अन्त्यतिर अफगानिस्तानबाट हटिसक्ने बताइरहेका बेला अफगानिस्तानले नयाँ नेतृत्व पाएको छ ।
सोमबार अफगानिस्तानको राजधानीमा नयाँ राष्ट्रपतिको सपथ लिनका लागि तयारी गरिरहँदा राजधानी काबुलमै आज बिहानै एक बम विस्फोट गराइएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।
ती अधिकारीहरूका अनुसार तर सो बमको प्रभाव भने अत्यन्तै कमजोर थियो । त्यो प्लास्टिकमा बेरिएको सकेट बम थियो र त्यसबाट कोही पनि घाइते भएका छैनन् ।
राजधानी काबुलमा रहेको राष्ट्रपति निवासमा नयाँ राष्ट्रपतिको सपथका लागि भव्य समारोहको आयोजना गरिएको छ । उक्त समारोहका लागि अफगानिस्तानका वरिष्ठ व्यक्तित्वहरू जम्मा भइरहेका छन् । स्वदेशी तथा विदेशी पाहुनाका लागि सुरक्षाको निकै कडा प्रबन्ध गरिएको छ ।
हेलिकोप्टरले नै उक्त राष्ट्रपतीय कार्यालयमा हवाई सुरक्षा गस्ती गरेको समाचारमा जनाइएको छ । सन् २००१ मा भएको अमेरिकी सहयोगको नयाँ राजनीतिक परिवर्तनपछि राष्ट्रपति बनेका हमिद कारजायीपछि अफगानिस्तानमा पहिलो पटक अर्को व्यक्तिमा शक्ति हस्तान्रतण हुँदै छ ।
राष्ट्रपतिको नयाँ निर्वाचनपछि बितेका तीन महिनामा अफगानिस्तानमा सुरु भएको कडा राजनीतिक विवादपछि असरफ घानी र उनका निकटतम प्रतिद्वन्द्वीबीच भएको सहमतिपछि उनी नै नयाँ राष्ट्रपतिमा चयन भएका हुन् ।
गत जुन महिनाको १४ तारिखमा अफगानिस्तानमा नयाँ राष्ट्रपतिको निर्वाचन भएको थियो । सो निर्वाचनमा उन र उनका अर्को प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाहले आ–आफूले निर्वाचनमा बहुमत हासिल गरेको दाबी गरेका थिए ।
सो निर्वाचनमा सहमति हुन नसकेपछि पछिल्लो समयमा अमेरिका र अन्य पश्चिमा मुलुकहरूको सहयोगमा पुनः मतगणना पनि भएको थियो ।
सो मतगणनामा पनि स्पष्ट रुपमा कुनैको बहुमत प्राप्त हुन सकेन र दुवै जनाको आ आफ्नै दाबी कायम रह्यो । तर पछिल्लो सहमतिबमोजिम उनहरूबीच शक्ति बाँडफाँड भएको थियो ।
सो समारोहमा भारत, पाकिस्तानका साथै बेलायत, अमेरिका र फ्रान्सबाट पनि प्रतिनिधिहरू सहभागी हुन लागेका अफगान अधिकारीहरूले जनाएका छन् । एएफपी













प्रतिक्रिया