काबुल, १२ असोज । मध्य काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै आइतबार बिहान एक बम विस्फोट भएको छ ।
यस विस्फोटमा परी कम्तीमा एक व्यक्ति घाइते भएको सरकारी स्रोतले जानकारी दिएको छ । राष्ट्रपति भवनको पश्चिम गेटनजिकैको जाम्बाक स्क्वायरमा एक सैनिक भ्यानमा बम जडान गरिएको जनाइएको छ ।
सो बम विस्फोट स्थानीय समयअनुसार आइतबार बिहान ८.३० बजे भएको बताइएको छ । उक्त विस्फोट अफगानिस्तानमा नयाँ राष्ट्रपति अस्रफ घानी अहमद्जाईको सपथग्रहण समारोहको एक दिन अगाडि भएको जनाइएको छ ।
अहमद्जाईले सोमबार अफगानिस्तानको राष्ट्रपति पदको सपथग्रहण गर्नु हुने बताइएको छ । उहाँले राष्ट्रपति हमिद कारजाईलाई प्रतिस्थापन गर्दै हुनुहुन्छ ।
यस आक्रमणको हालसम्म कुनै पनि आतङ्ककारी समूहले जिम्मा लिएको छैन, तर यस प्रकारको आक्रमण बारम्बार तालिवान आतङ्ककारी समूहले गराउँदै आएको हुनाले यस आक्रमणमा पनि सो समूहको हात रहेको प्रहरीले दाबी गरेका छन् ।
अफगानिस्तानमा गतवर्षदेखि नै विदेशी सैनिकले गर्दै आएको नेतृत्व सवै अफगान सुरक्षाबलले सम्हाल्दै आएका छन् ।
सन् २०१४ को अन्त्यसम्म अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका छन् ।
अफगानस्तिानमा सन् २०१० सम्म एक लाख ३० हजार नेटो रहेका थिए । हाल आएर सङ्ख्या झरेर ४१ हजार रहेका छन् ।
ती मध्ये पनि २९ हजार अमेरिकी सैनिक रहेका छन् । अफगानिस्तान र अमेरिकाबीच द्वीपक्षीय सुरक्षा सम्झौतामा हस्ताक्षर भएकामा आगामी वर्षमा पनि करिब १० हजार अमेरिकी सैनिक आगानिस्तानमा रहने अमेरिकको योजना रहेको छ । रासस/सिन्ह्वा













प्रतिक्रिया