न्युयोर्क, १० असोज । चिनियाँ विदेशमन्त्री वाङ यी र उहाँका भारतीय समकक्षी सुष्मा स्वाराज दुई देशको सम्बन्ध थप विस्तारका लागि सहमत भएका छन् ।
उनीहरुबीच संयुक्त राष्ट्रसंघमा भेटघाट भएको छ । भेटवार्ताका क्रममा उहाँहरु सम्बन्ध विस्तारका लागि सहमत भएको समाचारमा जनाइएको छ ।
चिनियाँ विदेशमन्त्री यीले हालै चिनियाँ राष्ट्रपति सि जिनपिङ्ले गर्नुभएको भारतको एैतिहासिक भ्रमणबाट दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि सहयोग पुगेको धारणा राख्नुभयो ।
दुई मन्त्रीको भेटवार्तापछि उहाँले भन्नुभयो– चिनियाँ प्रधानमन्त्रीको हालैको भ्रमणपछि दुई देशबीचको समझदारी र सम्बन्ध विस्तारमा सहयोग पुगेको हामीलाई लागेको छ ।
हालैमात्र भएको चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा यी दुई देशबीचका सम्बन्ध विस्तारका विषयमा छलफल भएको थियो । छलफलका क्रममा दुई देशबीचको विवादास्पद सीमामा पनि सुधार गरिनुपर्नेमा सहमति भएको थियो ।
विदेशमन्त्रीहरुबीच बुधबार भएको सो भेटवार्ताका क्रममा यसअघि भएको चिनियाँ राष्ट्रपतिको भ्रमणका क्रममा भएका सहमतिको कार्यान्वयनका बारेमा पनि कुराकानी भएको बताइएको छ ।
विगतका कयौं वर्षहरुदेखि भारत र चीनबीचको सम्बन्ध त्यति सुमधुर छैन । यी दुई देशबीच एकपटक युद्ध पनि भएको थियो ।
तर यसपटक भने भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी निर्वाचित भएपछि सम्बन्ध विस्तारका लागि भारतीय पक्षबाट थप प्रयासहरु भएका बताइएको छ । रासस / सिन्ह्वा














प्रतिक्रिया