काठमाडौं, ७ असोज । उपचारका क्रममा सोमबार राती निधन हुनुभएकी एमालेले नेतृ साहना प्रधानको निधनप्रति पार्टीले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
निधनप्रति शोक व्यक्त गर्दै एमालले देशभरिका पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । एमालेले प्रधानको शोकमा तीन दिनसम्म पार्टीका तर्फबाट कुनै पनि औपचारिक कार्यक्रम नगर्ने पनि बताएको छ ।
एमालेले असोज ११ गते ७५ जिल्लाका सबै पार्टी कार्यालयहरूमा श्रद्धाञ्जलिसभा गर्ने भएको छ ।
एमालेले नेतृ प्रधानको नाममा जारी गरेको शोक वक्तव्य
हाम्रो पार्टी नेकपा (एमाले) की आदरणीय नेतृ, नेपालको वाम– लोकतान्त्रिक आन्दोलनकी अग्रणी व्यक्तित्व तथा नेपाली महिलाहरूकी प्रेरणादायी धरोहर कमरेड सहाना प्रधानको ६ असोज २०७१ राति ११.०५ बजे काठमाडौं बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको छ ।
उहाँ गएको जेठ २३ गतेदेखि मस्तिष्कघात र छातीको सङ्क्रमणसँग जुझिरहनुभएको थियो । उपचारको क्रममा निधन हुनुभएकी दिवंगत नेतृ सहाना प्रधानप्रति सिङ्गो पार्टीका तर्फबाट म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
वि.सं. १९८४ साल असार २७ गते काठमाडौंको असन टोलमा आमा रम्भादेवी र बुबा शङ्करलाल प्रधानकी तेस्रो सन्तानका रूपमा जन्मिनुभएकी सहाना प्रधान पाँच बर्षको उमेरमा आफ्नो परिवारसँगै बर्मा जानुभएको थियो र प्रारम्भिक शिक्षा त्यहीँ प्राप्त गर्नुभएको थियो ।
बर्मामा छँदै दोस्रो विश्व युद्धको विभीषिकालाई नजिकबाट नियाल्ने क्रममा उहाँको हृदयमा शान्ति, लोकतन्त्र, देशभक्ति र मानवसेवाको भावना गहिरो गरी बिजारोपण भएको थियो । वि.सं. २००१ असारमा स्वदेश फर्केपछि उहाँ राणाशाही विरोधी आन्दोलनमा सङ्लग्न हुनुभएको थियो ।
उहाँहरूकै सक्रियतामा २००४ साल बैशाख १७ गते काठमाडौंमा जहाँनिया राणा शासनविरुद्ध पर्चा छर्ने र जुलुस निकाल्ने काम भएको थियो र त्यसै क्रममा उहाँहरू गिरफ्तार समेत हुनुभएको थियो । महिला शिक्षा र लोकतन्त्रको माग गर्दै भएको आन्दोलनको उहाँ अग्रणी योद्धा हुनुहुन्थ्यो ।
२००४ साल असारमा गठित नेपाल महिला सङ्घको उहाँ संस्थापक केन्द्रीय सदस्य हुुनुहुन्थ्यो । २००७ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नुभएकी उहाँ अखिल नेपाल महिला संघको संस्थापक महासचिव र नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो पुस्ताकी अग्रणी नेता हुनुहुन्थ्यो ।
पति कमरेड पुष्पलाल, दाजु गौरीभक्त प्रधान, दिदी साधना अधिकारीसमेत उहाँको सिङ्गो परिवारले नेपाली लोकतान्त्रिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा पु¥याएको योगदान अतुलनीय र अविस्मरणीय छ ।
२०१० साल माघ १० गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालसँग वैवाहिक सम्बन्धमा बाँधिनुभएकी कमरेड सहानाले आफ्नो सिङ्गो जीवन कमरेड पुष्पलालको राजनीतिक जीवनको अभिन्न सहयात्री र अन्तरङ्ग सहयोगीका रूपमा व्यतीत गर्नुभयो ।
२०३५ साल साउन ७ मा कमरेड पुष्पलालको निधनसँगै राजनीतिक क्रियाशीलतालाई तीव्रता दिंदै उहाँले पुष्पलाल समूहको अगुवाइ गर्नुभयो । निरंकुशता विरोधी संघर्षका क्रममा पञ्चायती शासकहरुले उहाँलाई २०३२ सालमा त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवाबाट निस्काशन गरेका थिए । २०३५÷३६ सालको आन्दोलन र २०४२ सालको सत्याग्रहमा सक्रिय भूमिका निर्वाह गर्नुभयो र गिरफ्तार समेत हुनुभयो ।
२०४६ साल माघमा गठित संयुक्त वाम मोर्चाको अध्यक्षका रूपमा रहनुभएकी कमरेड सहाना प्रधानले उक्त आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो र आन्दोलनपछि गठित अन्तरिम सरकारमा वरिष्ठ मन्त्रीका रूपमा उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो । २०४७ साल पुसमा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरणसँगै नेकपा (एमाले)को नेतृत्वदायी भूमिकामा रहनुभएकी कमरेड सहानाले जीवनपर्यन्त पार्टीमा अभिभावकीय भूमिका निर्वाह गरिरहनुभयो ।
पुनःगठित अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्षका रुपमा उहाँले परिवर्तित सन्दर्भमा महिला आन्दोलन र त्यसका मुद्दाहरुको उठान र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
त्यसैक्रममा महिला सुरक्षा दबाब समूहको अध्यक्षका हैसियतमा आम महिलाहरुको सर्वमान्य नेताका रुपमा समेत उहाँले योगदान गर्नुभएको थियो । २०४८ को आमनिर्वाचनमा काठमाडौंबाट सर्वाधिक मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा विजयी उहाँ २०५१ सालको मध्यावधि निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो ।
२०५३ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीका रुपमा क्रियाशील हुनुहुन्थ्यो । साथै, उहाँ २०५४ देखि २०५८ सम्म नेकपा (माले)को अध्यक्ष रहनुभएको थियो ।
२०६२÷०६३ को शान्तिपूर्ण ज
नक्रान्तिपश्चात पुनःगठित सरकारमा उहाँले २०६३ चैतदेखि २०६५ बैशाखसम्म उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो ।उहाँका एक छोरा उमेश श्रेष्ठ र र एक छोरी उषा श्रेष्ठ हुनुहुन्छ ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा झण्डै सात दशक लामो योगदान दिनुभएकी कमरेड सहाना प्रधानको निधनले हाम्रो पार्टीले एकजना असल अभिभावक, लोकतान्त्रिक आन्दोलनले एकजना अग्रणी योद्धा र नेपाली महिलाहरूले एकजना प्रेरक व्यक्तित्व गुमाएका छन् ।
पार्टीलाई थप एकताबद्ध र सुदृढ गर्दै मुलुकको पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गर्ने क्रममा नै, संविधान निर्माण गरेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने तथा नेपाललाई छोटो समयभित्रै समृद्ध, समुन्नत र सबल बनाउने अभियानमा अघि बढ्ने क्रममा नै उहाँप्रति साँचो श्रद्धाञ्जली अर्पण गर्न सकिन्छ ।
दुःखको यस घडीमा म सिङ्गो पार्टीका तर्फबाट पुनः एकपटक कमरेड सहाना प्रधानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।
उहाँको सम्मानमा देशैभरिका पार्टी कार्यालयहरूमा आजबाट तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने र पार्टीको औपचारिक कार्यक्रम नगरिने, देशैभरि श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना हुने र केन्द्रीय कमिटीको तर्फबाट यही असोज ११ गते, शनिवार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने समेत जानकारी गराउन चाहन्छु ।
केपी शर्मा ओली
अध्यक्ष















प्रतिक्रिया