नयाँ दिल्ली, ६ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको आफ्नो पहिलो भ्रमण तथा संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधनको कार्यक्रमबीच नौदिने धार्मिक व्रत कायमै राख्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री मोदी पूर्णरूपमा मदत्यागी शाकाहारी हिन्दु हुनुभएको र उहाँले हरेक वर्ष नवरात्रिको समयमा व्रत बस्ने गर्नुभएको बताइएको छ । यस वर्ष सेप्टेम्बर २५ देखि अक्टोबर ३ सम्म उक्त पर्व पर्छ र यस अवधिमा उहाँ अमेरिकी राष्ट्रपति वाराक ओबामासँग भेट गर्न वासिङटनको भ्रमणमा रहनुहुनेछ ।
स्थानीय आमसञ्चारले यस अवधिमा उहाँले कागतीको रस तथा चिया लिनुहुने तथा आहारा सेवन नगर्नुहुने उल्लेख गरेका छन् । यसको अर्थ उहाँजस्ता उच्चपदस्थ राजनीतिज्ञको भ्रमणका समयमा दिइने परम्परागत ठूला भोजको खानपानमा उहाँको क्रियाशीलता नरहनसक्ने अनुमान गरिएको छ ।
प्रधानमन्त्री मोदीको कार्यालयले यस विषयमा कुनै टिप्पणी गरेको छैन । एक वरिष्ठ अधिकारीले आफ्नो परिचय नदिने सर्तमा प्रधानमन्त्री मोदीको व्रतसँग अमेरिकामा उहाँको कार्यक्रममा कुनै सम्बन्ध नहुने बताएका छन् । यी अधिकारीले निर्धारित कार्यक्रममा उहाँको संलग्नता रहने उल्लेख गरे ।
प्रधानमन्त्री मोदीले न्यु योर्कबाट अमेरिका भ्रमण आरम्भ गर्नुहुनेछ । त्यहाँ उहाँले शनिबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुनेछ । यसपछि उहाँ भारतीय अमेरिकी नागरिकले आयोजना गर्ने एक भेलामा सहभागी हुनुहुनेछ । यसपछि उहाँ वासिङटनका लागि प्रस्थान गर्नुहुनेछ ।
त्यहाँ उहाँले ह्वाइट हाउसको भ्रमण गर्नुहुनेछ । सन् २००२ मा उहाँ गुजरातको मुख्यमन्त्री भएको समयमा मुसलमान अल्पसङ्ख्यकविरुद्ध हिंसा नियन्त्रण गर्न नसकेको भनी यसअघि अमेरिकाले उहाँलाई प्रवेशाज्ञा दिन अस्वीकार गरेको थियो ।
भारतमा मे महिनामा भएको आमनिर्वाचनमा मोदीले हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टीलाई नेतृत्व दिनुभएको थियो उहाँको दलले अत्यधिक मत प्राप्त गरी विजय हासिल गरेको थियो । उहाँले उक्त हिंसात्मक घटनामा आफ्नो कुनै दोष नभएको बताउनुभएको छ ।
सन् २०१२ मा उहाँले एक ब्लगमा आफूले गत ३५ वर्षदेखि नवरात्रिको व्रत लिइरहेको उल्लेख गर्नुभएको थियो । उहाँले आफ्नो यो व्रत आत्मशुद्धिको प्रक्रिया भएको बताउनुभएको थियो ।
उहाँले यस्ता व्रत आफ्ना लागि गत धेरै वर्षदेखि शक्ति तथा अभिप्रेरणाको स्रोत भएको उल्लेख गर्नुभएको थियो ।
भारतभरका हिन्दुले नवरात्रि मनाउने गर्छन् र यस अवधिमा देवीको पूजा गरिन्छ । भक्तहरू आफ्नो घरमा ठूला मूर्ति स्थापना गर्छन्, नवरात्रिको अन्तिम दिनसम्म व्रत बस्छन् र अन्तिम दिनमा मूर्तिलाई जलमा सेलाइन्छ । यस पर्वलाई राक्षसी शक्तिमाथि ईश्वरी शक्तिको विजयको रूपमा लिइन्छ । रासस / एएफपी














प्रतिक्रिया