काठमाडौं, ३१ भदौ । माओवादी अध्यक्ष प्रचण्डको दबाबमा कान्तिपुरका मालिक कैलाश सिरोहियाले सम्पादकमा नियुक्ति गरेर पनि रद्द गरेको कुरा पत्रकार युवराज घिमिरेले बताएका छन् । कार्यालय आउने बार समेत तोकेर अन्त्यमा सुधीर शर्मालाई सम्पादक नियुक्त गरिएको घिमिरेको भनाइ छ ।
चर्चित टक शो प्रस्तोता विजय कुमारद्वारा लिखित पुस्तक ‘खुशी’ मा पत्रकार घिमिरेले यस्तो बताएका हुन् । पुस्तकको ‘साँचो कसको हात’ शीर्षकको भागमा उनले नेपाली पत्रकारिताका केही ठूला घटनाको चिरफार गरेका छन्, खासगरी ठूला मिडियाको सम्पादक फेरिएका घटनाको बारेमा । हाल अन्नपूर्ण पोष्टका सम्पादक रहेका घिमिरेलाई कान्तिपुरबाट विनोद ज्ञवाली छुटेपछि सम्पादकको प्रस्ताव आएको कुरा उल्लेख छ । घिमिरेले भनेका छन्, ‘विनोद ज्ञवाली कान्तिपुरबाट छुट्टिएपछि कैलाशले याक एन्ड यतिमा मलाई बोलाएर भने, ‘विनोदलाई तिर्दाको ७५ करोड ऋण मेरो टाउकोमा छ, पुराना कुरा बिर्सेर तपाइँले पाँच वर्ष सम्पादक भइदिनुपर्यो ।’ दुई चार राउन्ड कुरा भएपछि अखिलेश काठमाडौं पोष्टमा र म कान्तिपुरमा फर्कने निर्णण गरियो । मैले ज्वाइन गर्ने बार समेत तोकियो । तर अचानक माओवादी नेता प्रचण्ड सिनमा देखिएपछि कैलाशले वचन फेरे । किनभने म प्रचण्डलाई स्वीकार्य भइनँ सायद ।’
ज्ञवालीसँगै कान्तिपुरका सम्पादक नारायण वाग्ले र दी काठमाडौं पोष्टका सम्पादक प्रतीक प्रधानले पनि छाडेपछि घिमिरेलाई दोस्रो पटक सम्पादकको प्रस्ताव राखिएको थियो ।
तर नेपालका सम्पादक रहेका सुधीर शर्मा कान्तिपुरका सम्पादकमा नियुक्त भएका थिए । त्यस्तै विनोद ज्ञवालीले नारायण वाग्ले र किशोर नेपाललाई सम्पादकबाट हटाउँदाका रोचक प्रसंग पनि किताबमा छन् । ज्ञवालीले वाग्लेलाई एकदिन भनेछन्, ‘कि सम्पादकले राजीनामा दिनुपर्यो, कि प्रकाशकले ।’ त्यसपछि वाग्लेले राजीनामा दिएका थिए । त्यसबेला विजयकुमार स्वयम्लाई पनि सम्पादक बनाउनेबारे सल्लाह भएको थियो, तर अस्वीकार गर्ने डरले ज्ञवालीले आफूलाई प्रस्ताव राख्न नसकेको पुस्तकमा बताएका छन् । त्यसपछि किशोर नेपाललाई नागरिकले सम्पादक बनाएको थियो । पत्रकार वाग्लेप्रति ज्ञवालीले टिप्पणी गरेका छन्, ‘नारायणलाई यो लाग्न थाल्यो कि उसको व्यक्तिगत हाइट संस्थाकोभन्दा ठूलो हो । मेरो मनमा पनि सायद त्यही इष्र्या जाग्यो…’ नागरिकमा प्रतिक प्रधान सम्पादक भएपछि मात्र पत्रिका नाफामा गएको उनले बताएका छन् ।
बिहेलाई चौधरीले पैसा दिएनन्
आफ्नो बिहे गर्नलाई खर्च नपुगेपछि विजयकुमारले उद्योगपति विनोद चौधरीसँग २०४८ सालमा एक लाख रुपैयाँ सापटी मागेका रहेछन् । तर चौधरीले ‘होइन एक लाख रुपैयाँ तपाइँलाई के का लागि चाहिन्छ, भोजको लागि कति, लत्ताकपडाको लागि कति, हिसाब गरेर हेरौं न’ भनेपछि विजयकुमार रिसाएर हिडेका थिए । पछि निर शाहले बिहेका लागि एक लाख रुपैयाँ दिएको उनले उल्लेख गरेका छन् । कार किन्दा पनि केही पैसा चौधरीले मिनाहा गरिदिएको पनि उनले उल्लेख गरेका छन् ।
पत्रकारिता, राजनीति, जीवन, सेक्स, मदिरापान अध्यात्मबारे पत्रकार पाण्डेको पुस्तकमा निकै रोचक घटना र विचारहरू उल्लेख गरेका छन् । इन्जिनियरको जागिर छाडेर प्रसिद्धी कमाउने सपनामा पत्रकारितामा जोडिएका उनी पंचायतकालदेखि नै सेलिब्रेटी बनिसकेका छन् । एकपटक पत्रकारिता छाडेर अमेरिकामा क्याफे खोल्नका लागि याक एन्ड यतिका मालिक राधेश्याम सर्राफले एक लाख डलर दिने वचन दिएका थिए उनलाई । तर पछि त्यो निर्णयबाट उनी पछि फर्किएका थिए ।
जीवनका गाह्रासाँघुरा पलमा आर्थिक सहयोग गर्ने १० जना व्यक्तिको नाम पनि उनले उल्लेख गरेका छन् । जसमा उपेन्द्र महतो, विनोद चौधरी, नीर शाह, नेकोन एयरका मालिक दिव्यराज भण्डारी र दीपमणि भण्डारी, चार्टर्ड एकान्टेन्ट तीर्थराज उपाध्याय, प्रभाकरशमशरेका छोरा सिद्धार्थ राणा, पर्यटन व्यवसायी पीपी प्रसाई र याक एन्ड यति होटलका मालिक रोधश्याम सर्राफ छन् । फाइन प्रिन्टले बजारमा पत्रकार पाण्डको आत्मकथा गत शुक्रबार याक एन्ड यति होटलमै लोकार्पण गरिएको थियो । पुस्तक लेखनमा व्यवसायी उपेन्द्र महतोले आर्थिक सहयोग गरेकाले पुस्तक बिक्रीको रकम उनै महतोले स्थापना गरेको फुलकुमारी महतो ट्रष्टलाई दिने उनले बताएका छन् ।
















प्रतिक्रिया