काठमाडौं, १२ भदौ । राष्ट्रपति डाक्टर रामवरण यादवले नेकपा एमालेका निवर्तमान अध्यक्ष एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई गीतकारका रुपमा सम्मान गर्नुभएको छ ।
राजनीतिक कार्यबाट समय निकालेर गीत संगीत सिर्जनालाई लामो समयदेखि निरन्तरता दिएको भन्दै नेपाल म्युजिक क्रियसन प्रालिका तर्फबाट राष्ट्रपति यादवले खनाललाई बुधबार सम्मान गर्नुभएको हो । एमाले वरिष्ठ नेता खनालसँगै सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङलाई पनि सम्मान गरियो ।
कार्यक्रममा खनालले राजनीतिबाट कहिलेकाही बचेको समयमा आफूले गीत, कविता सृजना गर्दै आएको प्रकाश पार्नुभयो । खनालको साहित्यिक नाम ‘जेएन’ हो ।
कार्यक्रममा राष्ट्रपति यादवले गायक मोहन रार्इको नयाँ एल्बम ‘कस्तो सपना’को बिमोचन पनि गर्नुभएको थियो । गायक राईको स्वरको प्रशंसा गर्दै राष्ट्रपति यादबले देशभक्तिपूर्ण गीतलाई अंगालेर गायनलाई निरन्तरता दिन सुझाब दिनुभयो ।
राईको नयाँ संग्रहमा ७ वटा गीत छन् । जसमा जेएन (झलनाथ) खनाल, डा। पवन चाम्लिङ, व्याकुल माईला, बुद्धबीर लामा, नव सिलवाल, हेम सुवेदी र राम भट्टराईका गीत छन् ।
गीतहरुमा सुरेश अधिकारी, बसन्त सापकोटा, कृष्णभक्त श्रेष्ठ, दिनेश सुब्बा, पुरन बज्राचार्यले संगीत भरेका छन् ।
















प्रतिक्रिया