बुटवल, १२ भदौ । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले संविधान निर्माणका लागि उच्चस्तरीय राजनीतिक समिति आवश्यक नभएको बताउनुभएको छ ।
उहाँले संविधानसभा नै सार्वभौम भएकाले संविधान निर्माणका क्रममा आउने विवादको समाधान संविधानसभाभित्रै खोजिनुपर्ने बताउनुभयो ।
प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा सचिव विष्टले संविधान निर्माणमा अवरोध गर्न उच्चस्तरीय राजनीतिक समितिको कुरा ल्याइएको आरोप लगाउनुभयो ।
संविधान निर्माणमा राजनीतिक दल गम्भीर हुनुपर्ने भन्दै उहाँले सरकार गठनका बेला भएको सहमतिलाई नेपाली काँग्रेसले पूर्ण कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
संविधानसभाद्वारा निर्धारित कार्यतालिकाअनुसार सबै विषयमा सहमति जुटाइसक्नुपर्ने बताउँदै सचिव विष्टले अन्य कामलाई थाँती राखेर भए पनि संविधान निर्माणलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस
















प्रतिक्रिया