काठमाडौं, १० भदौ । नेपाल उद्योग वाणिज्य महासंघले सुपारी निर्यात गर्दा एकाधिकार कायम गरेको भन्दै झापा र मोरङ्का सुपारी किसानहरुले आगामी भदौ १६ गतेदेखि आमरण अनशन बस्ने चेतावनी दिएका छन् ।
मंगलबार राजधानीमा सुपारी खेती विकास संस्था कृषि विकास संघ नेपाल, झापा, अनारमणि फलफूल तथा सुपारी तथा विकास संस्था, झापा र पूर्वाञ्चल फलफुल तथा खेती प्रर्वद्धनलगायतले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका हुन् ।
महासंघले आगामी १५ दिनभित्र निर्णय नसच्चाएमा भदौ १६ गतेबाट महासंघ परिसरमै आमरण अनशन बस्ने चेतावनी दिए ।
उनीहरुले सुपारी तस्करीमा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व पक्ष संलग्न रहेको भन्दै करोडौंको चलखेल तर्फ बढेको समेत आशंका व्यक्त गरेका छन् ।
कार्यक्रममा सुपारी खेती विकास संस्था, कृषि विकास संघ, नेपाल झापाका अध्यक्ष विष्णु शिवाकोटीले २०६८ को मापदण्ड भित्र परेका कृषकहरुका प्रतिनिधिमुलक संस्थाहरुलाई व्यवस्थापन गरी निर्यात सम्बन्धी अधिकार प्रत्यायोजन नगरेको आरोप लगाउनुभयो ।
शिवाकोटीले महासंघका नेतृत्वकर्ताले झापा र मोरङ्मा पूरानै संस्थालाई गैर कानुनी ढंगले उत्पतिको प्रमाण पत्र जारी गर्ने निर्णय फिर्ता लिनुपर्ने बताउनुभयो ।
त्यस्तै अनारमणि फलफुल तथा सुपारी खेती विकास संस्था, झापाका अध्यक्ष मेघराज ढकालले पनि महासंघले सुपारी सम्बन्धी कार्यविधि २०६८ अनुसार काम नगरेको भन्दै एकाधिकार लागु गर्न खोजेको आरोप लगाउनुभयो ।
पूर्वाञ्चल फलफुल तथा खेती प्रर्वद्धन एवं मोरंगका अध्यक्ष प्रेम रिमालले एउटा संस्थालाई मात्रै उत्पतिको प्रमाण पत्र जारी गराएकोमा आपत्ति जनाउनुभयो ।
उनीहरुले सुपारी सम्बन्धी मापदण्ड लागुगर्नुपर्ने, किसानहरुलाई साक्षी राखेर निर्णय गर्नुपर्ने, एकाधिकार हटाउनुपर्ने लगायतका ७ बुँदे माँगहरु अघि सारेका छन् ।













प्रतिक्रिया