२९ आश्विन २०८३, बिहिबार

तीज : कुन-कुन गहना बढी बिक्छन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, १० भदौ । तीज भन्ने बित्तिकै गहना गाँसिएर आउने गरेको छ । तीजमा महिलाहरू रातो सारी र झपक्क गहनामा सजिने परम्परा नै बसिसकेको छ । देखाउनकै लागि भएपनि तीजमा धेरै गहना लगाउने संस्कृति महिलाहरूमा छ । किनकी गहना महिलाहरूको लागि सान बन्दै गएको छ । तीज सुरु हुनै लाग्दा राजधानीका गहना पसलहरूमा पनि महिलाहरूको भीड बढ्दो छ । व्यवसायीहरूका अनुसार लगन र तीजको बेला नै सबैभन्दा बढी गहनाको बिक्री हुने गरेको छ । व्यवसायी रमेश महर्जनका अनुसार तीजको अवसरमा सबैभन्दा बढी तिलहरीको बिक्री हुने गरेको छ । त्यस्तै जन्तर, नौगेडि, हसली, कपालमा लगाउने चन्द्रमा जस्ता गहना पनि बिक्री हुने गर्दछन् । पछिल्लो समय नयाँ डिजाइनका विदेशी गहनाहरूमा पनि महिलाहरूको चासो बढ्दो छ ।

नेपालमा रहेका नेपाली महिलाहरूमा परम्परागत संस्कृतिको कारण परम्परागत गहनाप्रति लगाव रहेको छ । हिन्दु महिलाहरूमा गहनाको धेरै आकर्षण हुने गरेको छ । विदेशमा रहेका महिलाहरू विदेशी भेषभुसार संस्कृतिमा बस्नुपर्दा नेपाली संस्कृतिलाई बढी माया गर्न थालेका छन् । त्यसैले चाडपर्वमा नेपाली परम्परागत गहनाको माग उच्च छ । महिलाहरूले स्वतन्त्र महसुस गर्दै प्रफुल्ल भएर मनाउने चाड भएको र सम्पन्नताको प्रतिक तथा आवश्यक पर्दाको खजानाको रुपमा महिलाले गहनालाई हेर्ने भएको हुनाले उनीहरू गहना बढी जोड्ने गर्छन् । पछिल्लो समयमा सुनको मूल्य धेरै बढेको छ । मूल्यअनुसार क्रयशक्ति बढ्न नसकेकोले गहनाको व्यवसाय माग ठिक्क मात्र बढेको नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष मनिष प्रधान बताउँछन् ।

तुलनात्मक हिसावले हेर्दा पछिल्लो समयमा हलुका गहना बनाउने प्रचलन बढेको छ । १५ हजार रुपैया तोला हुँंदा र ५५ हजार रुपैया तोला हुँदा कुरो एउटै हुँंदैन । पहिलो १ तोलाको तिलहरी बनाउनेले अहिले आधा तोलाको बनाउने गरेका छन् । नेपाली कालिगढमा सुनलाई धेरे पातलो वनाएर थोरै सुनमा पनि ठूलो गहना बनाउने दक्षता छ । तर त्यसका लागि केहि बढी ज्याला लाग्छ । ज्याला बढी लागेपनि हलुका र थोरै सुन भएको गहना नै राम्रो हो ।

संस्कृतिमा नेपाल धनी छ । त्यसैले सुनका गहनासमेत विवाहितले लगाउने र अविवाहितले लगाउने फरक छ । त्यसैले गहना संस्कृति मात्रभन्दा पनि कलात्मकतामा पनि जोडिएको छ । महिलाले गहना लगाउनु मात्र होइन पछिल्लो समयमा गहनाको मूल्य बढ्दै जाँंदा सुरक्षाको सवाल पनि बढेको छ ।