काठमाडौं, ३१ साउन । सहकारी संस्थाहरुले देशभर बदनामी कमाउँदै गइरहेको बेला सहकारी मर्जरको नीति ल्याइने भएको छ ।
शुक्रवार राजधानीमा आयोजित राष्ट्रिय सहकारी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रममा नवनिर्वाचित अध्यक्ष केशव बडालले सहकारीलाई छिट्टै नै एकीकरण गर्ने नीति अघि सार्ने बताएका हुन् । देशका ७५ वटै जिल्लामा सहकारी संस्थाहरु खुलिसकेकोले हुँदा जागरको अध्याय सकिसकेको छ, बडालले भने–‘अव सहकारीलाई एकीकरण गर्नुपर्ने खाँचो छ ।’
सभासद् समेत रहेका राष्ट्रिय सहकारी संघका नवनिर्वाचित अध्यक्ष बडालले अव बन्ने नयाँ संविधानमा सहकारीलाई उचित स्थान कायम गर्नुपर्ने बताए । यसअघिका प्रधानमन्त्री खिलराज रेग्मीले एकपटक मात्रै सहकारी मन्त्रालयमा पाइला टेकेको उल्लेख गर्दै बडालले वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले भने एक पटक पनि सहकारी मन्त्रालयमा पाइला नटेको आरोप लगाए ।
यस्तै, अर्का सभासद् तथा राष्ट्रिय सहकारी संघका नवनिर्वाचित उपाध्यक्ष ओमदेवी मल्लले पछिल्लो कार्यसमितिमा राजनीतिक भागबण्डा भएको स्वीकार गर्दै राजनीतिक भागबण्डाकै कारण सहकारी संघमा समावेशी प्रतिनिधित्व रहेको दावी गरिन् । उनले आफ्नो कार्यकालमा ३३ प्रतिशत महिलालाई सञ्चालक समितिमा ल्याउने प्रतिवद्धता समेत जनाईन् ।
सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कंडेल, सहकारी वैंकका प्रवन्ध सञ्चालक केवी उप्रेती लगायत अन्य पदाधिकारीहरुले सहकारीमा देखिएको नीतिगत समस्याहरु हल गर्ने प्रयास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मिडिया इन्टरनेशनलका अध्यक्ष माधव निर्दोषले राष्ट्रिय सहकारी संघका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरेका थिए ।














प्रतिक्रिया