काठमाडौँ, २६ साउन । उपचारका क्रममा आइतबार बिहान भारतमा निधन भएका नेपाली चलचित्रका चर्चित नायक श्रीकृष्ण श्रेष्ठले आफ्नो पार्थिव शरीरलाई नेपाल नलैजान आग्रह गरेको खुलासा भएको छ ।
अभिनेता श्रीकृष्णले आफ्नो शव भने नेपाल नलैजान भनेको उनका दाजु मिनकृष्णबाट खुलासा गर्नुभएको हो ।
आफ्ना प्रशंसकलाई पीडा हुने भन्दै आफ्नो शव नेपाल नलैजान श्रीकृष्णले मृत्युअघि नै अनुरोध गरेको मिनकृष्णले पत्रकारहरुलाई बताउनुभयो । तर, नेपाली चलचित्र क्षेत्रको लोकप्रिय कलाकार भएकाले उहाँको शवलाई नेपाल ल्याइयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कर्मचारीसमेत रहेका श्रीकृष्णको सरकारी सम्मान दिइएको छ ।
श्रेष्ठको नयाँदिल्लीस्थित गंगाराम अस्पतालमा आइतबार बिहान ५ बजे निधन भएको थियो । निमोनियाको संक्रमण देखिएपछि उहाँ उपचारका लागि अस्पताल भर्ना हुनुभएको थियो ।
गत असार २३ गते नायिका श्वेता खड्कासँग विवाहबन्धनमा बाँधिनुभएका श्रेष्ठ हनिमुन मनाउन भारतको सिम्ला पुग्नुभएको थियो । चलचित्र निर्देशक आकाश अधिकारीले दिएको जानकारीअनुसार श्रेष्ठलाई एक हप्ता पहिला बोन क्यान्सर देखिएको थियो, उहाँको पहिलो किमो लिएको र हिजो दोस्रो किमो लिन नसकेपछि निधन भएको हो ।
श्रेष्ठद्वारा अभिनित पछिल्लो चलचित्र ‘कोहिनुर’ हाल प्रदर्शन भइरहेको छ । पछिल्लो समय उहाँको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कोहिनुर’ यही साउन २३ गतेबाट हलहरूमा प्रदर्शन भइरहेको छ ।
विसं २०४९ मा ‘भूमि’ चलचित्रबाट नेपाली चलचित्रमा प्रवेश गरेका श्रेष्ठले नायकको रूपमा ‘नाता’ चलचित्रबाट यात्रा अघि बढाउनुभएको थियो ।
चलचित्र क्षेत्रका निकै मिलनसारका रूपमा परिचित श्रेष्ठले आफन्त, आफ्नो मान्छे, सुखदुःख, ए मेरो हजुर, हामी तीन भाइ, पाहुना, कहाँ भेटिएलाजस्ता चर्चित चलचित्रमा अभिनय गर्नुभएको छ ।
यो पनि पढ्नुहोस्:
श्रीकृष्णको शवयात्रामा मानवसागर, राजधानी स्तब्ध, सबैलाई रुवाए श्रीकृष्णले (फोटोफिचरसहित)
यस्तो छ श्रीकृष्णको मृत्युको कारण, रोग लुकाइएको खुलासा
यस्तो थियो नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम सन्देश (भावुक अडियो सन्देशसहित)














प्रतिक्रिया