३० आश्विन २०८३, शुक्रबार

सिन्धुपाल्चोकमा राहत दिनेको ओइरोे, सुनकोसीको कृतिम ताल खुलाउन सातपटक बिस्फोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkosi-1

युवराज पाण्डे

सिन्धुपाल्चोक (जुरे), २४ साउन । सुनकोशी नदी थुनिने गरी खसेको पहिरोबाट पीडित र विस्थापितहरूका लागि राहत दिन ओइरो लागेको छ ।

राजनीतिक दल, गैरसरकारी संस्था, सहकारी, निर्माण व्यवसायी सङ्घ, होटेल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घलगायत झन्डै ४५ वटा संस्थाले नगद र जिन्सी सहयोग गरेको राहत व्यवस्थापन उपसमिति सिन्धुपाल्चोकले जनाएको छ ।

राहत उपलब्ध गराउने राजनीतिक दलतर्फ नेकपा (एमाले) निकट युवा संघ नेपालबाट दुई लाख ५० हजार, एमाओवादी काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकले एक लाख ८४ हजार ३१९, नेपाली काँग्रेस निकट नेपाल तरुण दल सिन्धुपाल्चोकले एक लाख ४६ हजार ४००, एमाले निकट अनेरास्ववियुबाट एक लाख २ हजार १२५ प्रदान गरिएको छ ।

यसैगरी एनसेल कर्मचारी ट्रेड युनियनबाट १० लाख, सभासद् शेरबहादुर तामाङबाट ५० हजार, विश्व हिन्दू महासंघबाट ५० हजार, नाइल बचत तथा ऋण सहकारी संस्थाबाट ५७ हजार ५००, नुवाकोट होटेल व्यवसायी संघबाट एक लाख ५ हजार ५०० गरी कुल १८ लाख ५८ हजार १५५ रुपैंया नगद संकलन भएको राहत व्यवस्थापन उपसमिति सिन्धुपाल्चोकले जनाएको छ ।

सिन्धुपाल्चोकका स्थानीय विकास अधिकारी तथा राहत व्यवस्थापन उपसमितिका संयोजक युवराज कट्टेलले पीडितहरूलाई चार तहमा वर्गीकरण गरेर राहत उपलब्ध गराइएको उल्लेख गर्दै पहिलो चरणमा खाद्यान्नलगायतका अत्यावश्यक सामग्री वितरण गरिएको बताउनुभयो ।

उहाँले राहतका लागि सङ्कलन भएको नगद रकम पुनःस्थापनाका लागि खर्च हुने जानकारी दिँदै पीडितले राहत पाउँछन् कि पाउँदैनन् भन्ने कुरा चुनौतीपूर्ण हो भन्नुभयो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले राहतका लागि सङ्कलन भएको रकमको अभिलेखीकरण हुने जानकारी दिँदै वास्तविक पीडितका लागि रकम खर्चिने बताउनुभयो ।

उहाले जति नगद राहत सङ्कलन भएको छ त्यति नै मात्रामा जिन्सी सामग्री सङ्कलन भएको छ भन्नुभयो ।

अहिलेसम्म ४० हजारका दरले किरिया खर्च बुझ्ने १३० जना, घर क्षति खर्च बुझ्ने तीन जना र राहत सामग्री बुझ्ने ४२९ जना रहेको राहत व्यवस्थापन उपसमिति सिन्धुपाल्चोकले जनाएको छ ।

अहिले पनि त्यहाँको लामोसाँघु भन्ने स्थानमा निजी संघसंस्थाले राहत प्रदान गर्ने कार्य जारी राखेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको माङ्खा, राम्चे र टेकनपुर गाविसमा १७ गते राति सुनकोसी नदी थुनिने गरी पहिरो गएको थियो । घटनामा ३३ जनाको शव फेला परेको थियो भने १२३ जनालाई स्थानीय प्रशासनले मृत घोषणा गरेको थियो ।

पीडितलाई तत्कालका लागि बासस्थान आवश्यक

यता, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले पहिरो पीडितलाई तत्कालका लागि सुरक्षित बासस्थान आवश्यक भएको बताउनुभएको छ ।

बाढीबाट पीडितका लागि विभिन्न संघसंस्थाबाट राहत सङ्कलन भइरहेको भए पनि तत्कालका लागि पीडितहरुलाई बासस्थानको समस्या भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो  ।

पीडितका लागि राहत प्रदान गर्न काठमाडौँबाट गएको नाइल बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष नीलमणि पाठकले दिनुभएको राहत सामग्री लिएपछि प्रजिअले अहिले पीडितका लागि लत्ताकपडा र खाने सामाग्रीभन्दा पनि प्राथमिकताको विषय बासस्थान हो भन्नुभयो ।

आफ्नो परिवार गुमाएर पीडित बनेकी सिन्धुपाल्चोक माङ्खा–१ बस्ने १६ वर्षीया बबिता पराजुलीले आफूहरुले केही खाने कुरा र लगाउने कपडा प्राप्त गरेको भए पनि बस्ने स्थानको समस्या हुँदा धेरै व्यक्ति एकै ठाउँमा बस्नु परेको बताउनुभयो ।

आफूहरुले पीडितलाई सकेसम्म बस्ने व्यवस्था मिलाएको भए पनि त्यो पर्याप्त नभएको उल्लेख गर्दै जिविस सिन्धुपाल्चोकका सूचना अधिकारी राजेन्द्र प्याकुरेलले खाने र लगाउने सामग्रीका लागि विभिन्न सरकारी र गैरसरकारी सङ्घसंस्थाको सहयोग निरन्तर रहेको बताउनुभयो ।

नेपाली सेनाद्वारा उद्धार कार्य जारी

यता, राम्चे गाविस–५ को जुरे इलाकामा गएको पहिरोले अवरुद्ध सुनकोशीको बहावलाई सुचारु गर्न नेपाली सेनाले शनिबार पनि सातपटक विष्फोट गरेको छ ।

कृतिम तालको पानीको भित्री बहाव २०५ क्युसेक रहेको र बाहिरी बहाव २१० क्युसेक रहेको छ भने कृतिम तालको पानी शनिबार करिब ७ सेमीले घट्न गएको छ ।

खोज तथा उद्धार कार्यका लागि हिजो लामोसाँघु पु¥याइएको दुईवटा एक्स्काभेटरको केही पार्टपूर्जा नेपाली सेनाको एमआई १७ हेलिकोप्टरले उक्त स्थानमा लगेको छ भने बाँकी पाटपूर्जा आइतबार लैजाने व्यवस्था मिलाइएको छ ।

नेपाली सेनाले उक्त कृतिम तालको पानीलाई सक्दो चाँडो गहिरो र फराकिलो निकास गराउने र अवरुद्ध कोदारी राजमार्गलाई समेत जतिसक्दो चाँडो सुचारु गर्ने योजना रहेको छ ।

रासस