काठमाडौँ, २४ साउन । एकीकृत नेकपा(माओवादी)भित्र देखिएको पछिल्लो विवाद समाधान गर्न उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुई विकल्प अगाडि सार्नुभएको छ ।
उहाँले पार्टीलाई फुटबाट जोगाउनका लागि छलफलमा स्वतन्त्रता र कामकारबाहीमा एकरुपता ल्याउन तथा कुृनै गुटमा नलागी परम्परागत विशेषाधिकार भएको अहम् त्याग्न अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई सुझाव दिनुभएको छ ।
अध्यक्ष दाहाल र नेता डा भट्टराईसँग शनिबार छुट्टाछुट्टै भएको छलफलमा उहाँले दुई प्रस्ताव अगाडि सार्नुभएको हो । पार्टी जोगाउन दुवै नेताको महत्वपूर्ण भूमिका आवश्यक छ भन्दै उपाध्यक्ष श्रेष्ठले अध्यक्ष दाहाललाई कसैले निषेध नगर्न र विवादलाई सामान्य तरिकाले समाधान गर्न सुझाव दिनुभयो । पार्टीलाई रुपान्तरण गरेर जानुपर्नेमा सानातिना विवादलाई तन्काउनु आफँैमा जायज हुन्न भन्दै उहाँले तत्काल समस्या समाधानको उपाय खोज्न दुवै शीर्ष नेतालाई आग्रह गर्नुभयो ।
अध्यक्ष दाहाल र नेता डा भट्टराईसँग भएको छलफल सकारात्मक भएको बताउँदै उहाँले भन्नुभयो, “विवादलाई तन्काउने पक्षमा दुवै शीर्ष नेता हुनु हुन्न, एक दुई दिनभित्रै समस्या समाधान गर्ने सहमति भएको छ ।” शुक्रबार मात्रै अध्यक्ष दाहाल र वरिष्ठ नेता डा भट्टराई पनि विवाद समाधान गर्न सहमत हुनुभएको सन्दर्भमा आजको छलफल सकारात्मक भएको उहाँले बताउनुभयो ।
पार्टी स्थायी समिति बैठकमा तीन पटकभन्दा बढी उपस्थित नभएको भन्दै सचिव टोपबहादुर रायमाझी र स्थायी समिति सदस्य देवेन्द्र पौडेललाई हटाइएको तथा समानान्तर समिति गठन गरेको अभियोगमा नेता गङ्गानारायण श्रेष्ठ र रामरिझन यादवलाई निलम्बन गरिएपछि एमाओवादीको विवाद उत्कर्षमा पुगेको थियो ।
संस्थापन पक्षले पेलेको भन्दै नेता डा भट्टराई पक्षले मकवानपुर, सिन्धुली, धनुषा, बैतडीलगायत जिल्लामा समानान्तर समिति गठन गरेको थियो ।















प्रतिक्रिया