३० आश्विन २०८३, शुक्रबार

गोसाइँकुण्डमा भक्तजनहरुको भीडभाड, रसुवाको चहलपहल वेग्लै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gosai- kunda

भोलाराज पौडेल 

रसुवा, २४ साउन । रसुवा जिल्लाको स्याफ्रु गाविस वडा नं. ६ पर्ने गोसाइँकुण्डमा जनैपूर्णिमा मेला भर्न आउने भक्तजनहरुको भीड लागेको छ ।

यहाँ हरेक वर्ष गंगादशहरा र साउन शुक्ल पूर्णिमा (जनै पूर्णिमा)को अवसरमा मेला लाग्ने गर्छ ।

जनैपूर्णिमाका दिन विशेष मेला लाग्ने गरेको भएपनि विगत केही वर्षदेखि कुण्डमा नागपञ्चमीको दिनदेखि नै भक्तजनहरू पुग्ने गरेका छन् ।

कुण्डमा पुग्ने र आउनेहरुको भीडले सदरमुकाम धुन्चेसहित नुवाकोटको विदुरसम्म सवारी साधन र यात्रुहरुको चाप विस्तारै बढ्दै गएको छ ।

यस वर्ष २० हजार भक्तजन कुण्डमा पुग्ने विश्वास गोसाइँकुण्ड क्षेत्र विकास समितिले गरेको छ ।

एकादशीदेखि पूर्णिमाको दिनसम्म पाँच दिन लाग्ने मेलामा हिन्दु र बौद्ध धर्मालम्बीहरूको भीड लाग्छ ।

गोसाइँकुण्डमा स्नानगरी महादेवको पूजाअर्चना गरेमा अमूल्य पुण्य प्राप्ति हुने र मनले चितएको पुग्ने धार्मिक विश्वास रही आएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने गोसाइँकुण्डमा विशेषगरी जनैपूर्णिमाको दिन कुण्डमा स्नान गर्ने र रक्षाबन्धन बाँध्ने उद्देश्यका साथ यहाँ विभिन्न जिल्लाका साथै छिमेकी देश भारतबाटसमेत ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति हुनेगर्छ ।

विगतका वर्षहरूमा राम्चे मुलखर्क सडक खण्डमा पहिरोका कारण सडक अवरूद्ध हुँदा यात्रीहरूले सास्ती भोग्नुपर्ने भएपनि यस पटक धुन्चेसम्म सवारी साधन सञ्चालन भइरहेको छ ।

साना सवारी साधन भने वीचबाटोमा रोकिएका छन् । मेला भर्न आउनेयात्रुहरूहरूका लागि विभिन्न संघसंस्थाले स्वास्थ्य शिविर राखेर उपचारमा सहयोग गरिरहेका छन् ।
तामाङ संस्कृति, प्राकृतिक सौन्दर्य, धार्मिक महत्व, जैविक विविधता, शान्त, शुद्ध हावापानीको लागि गोसाइँकुण्ड गतिलो गन्तव्य बन्दै गएको छ ।

सहरीया कोलाहल, दुषित वाताबरण, दैनिक कामको बोझबाट मुक्त हुन र शान्त रहन खोज्नका लागि पनि गोसाइँकुण्ड पुग्ने मानिसहरूको संख्या अचेल बढ्दै गएको छ । मेला अवधिमा मात्र होइन, त्यसबाहेकका समयमा पनि कुण्डमा जाने पर्यटकहरूको संख्या उलेख्य रहँदै आएको छ ।

पौराणिक कथाका अनुसार समुन्द्र मन्थनबाट निस्किएको कालकुट विषले संसार नष्ट गर्न लागेपछि भगवान शिवले सो विष पिएर गोसाइँकुण्ड नजिकै आफ्नो त्रिशूलीले पानी निकालेर खाएर त्यो विष शान्त पारेका थिए ।

शिवले पानी निकालेर खाएको धारालाई त्रिशूल धारा भन्ने गरिन्छ भने सोही त्रिशूलबाट निस्किएको पानी जम्मा भएको गाउँलाई गोसाइँकुण्ड र गोसाइँकुण्डबाट बगेको खोलालाई त्रिशूली भनिएको जनविश्वास पाइन्छ । धार्मिक एवं पौराणिक ग्रन्थहरूमा समेत विशेष महत्वका साथ गोसाइँकुण्ड महिमाको उल्लेख गरिएको पाइन्छ ।

समुन्द्र सतहदेखि चार हजार तिन सय दश मिटर उचाईमा रहेको गोसाइँकुण्डको क्षेत्रफल ६ सय मिटर लम्बाई र ३ सय ७० मिटर चौडाई रहेको छ । भगवान शिबको बासस्थानको रूपमा रहेको हिमाली फेदीमा रहेको यस स्थानमा स्नान गर्नाले आफुले पहिला गरेको पापबाट मुक्ति मिल्ने र आफुले चिताएको सबै कुरा पुग्ने जनबिश्वास रहिआएकोले बर्षोनी भक्तजनहरू आउने गरेका छन् ।

छिटो हिड्नेहरूका लागि धुन्चेबाट एकै दिनमा गोसाइँकुण्ड पुग्न सकिन्छ भने ढिलो हिँड्नेहरूका लागि भने दुई दिनसम्म लाग्न सक्छ । छिटो जादा लेक लग्ने सम्भावना बढी हुने भएकोले विस्तारै जानु उपयुक्त हुने बताइन्छ ।