प्रताप बानियाँ
म्याग्दी, २४ साउन । ४० औं भू–संरक्षण दिवसको अवसर पारेर शनिवार म्याग्दीमा विभिन्न प्रजातीका १ हजार २ सय भन्दाबढी विरुवाहरु रोपेर उक्त दिवस भव्यरुपमा मनाइएको छ ।
जिल्ला भू–संरक्षण कार्यालय म्याग्दी, एमएसएफपी, फेकोफोन, हिमवन्ती र मिलन म्याग्दीको आयोजनामा भू–क्षय रोकथामका लागि बेनी नगरपालिका वडानम्बर–५ डम्बरास्थित अपाङ्ग संघको भवन हाताभित्र वृक्षारोपण गरिएको हो ।
‘विनासमुखी विकासले निम्त्याउँछ विपद् र लिन्छ ज्यान, भू–संरक्षण एवं वातावरणमैत्री विकास हाम्रो अभियान’ भन्ने नारासहित वृक्षारोपण गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रममा अम्रिसो, नेपियर, कल्की, धुपी, बाँस, चाँप, इपिल, बकाइनो र पारिजातलगायतका विरुवाहरु लगाइएको थियो । ‘म्याग्दी जिल्ला भू–क्षय र बाढीपहिरोको उच्च जोखिममा रहेकाले भू–संरक्षणको दिगो रुपमा संरक्षण गर्नुपर्छ भनेर हामीले यस्तो अभियान चलाएको हो,’ केसीले भन्नुभयो । उहाँले विकास निर्माणका काम गर्दा वातावरणमैत्री र दिगो विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
नेपालमा २०३१ सालदेखि भू–संरक्षण दिवस मनाउन सुरु गरिएकाले अहिले पनि ५६ ओटा शाखामार्फत ६० जिल्लामा भू–संरक्षणका गतिविधिहरु सञ्चालन भैरहेको छ । देशको ८३ प्रतिशत भू–भाग पहाड र भिरालो जमिनले बनेको कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा सरोकारवालाहरुले जल, जमिन, जङ्गल, जनावर र जनताको संरक्षण गरेर माटोपानी जोगाउँदै हरियाली बढाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले भिरालो जमिनमा अन्नबाली भन्दा फलफुल खेती, पशुपालन र वृक्षारोपण गरी माटोको संरक्षण गर्नुपर्ने बताएका थिए ।
















प्रतिक्रिया