काठमाडौं, २१ साउन । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परेर पीडित भएकाहरुलाई सहयोगका लागि स्थापित राहत कोषमा ९१ लाख जम्मा भएको छ ।
बुधवार भोटेकोसी पावर कम्पनीले २० लाख रुपैयाँ सहयोग गरेपछि उक्त रकम जम्मा भएको हो । बुधवार सो कम्पनीका प्रबन्ध निर्देशक नेन्द्र प्रजापतिले २० लाख रुपौयको चेक सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो ।
यस अघि आईतवार सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल हिमालय सिमापार बाणिज्य संघ र नेपाल ट्रक कन्टेनर ब्यवसायिक संघ तथा स्थानीय व्यक्तिको पहलमा चालीस लाख रुपैया जम्मा गरेर राहत कोष स्थापना गरिएको थियो ।
रु १ करोड संकलन गर्ने उदेश्यका साथ सुरु भएको यो कार्य अझै जारी छ । पीडितको अवस्था हेरेर केही दिनमा नै यो रकम हस्तान्तरण गर्ने योजना रहेको सहयोग संकलनका अभियन्त मध्येका एक प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले जानकारी दिनुभयो ।
साउन १६ राति आएको बाढीले सिन्धुपाल्चोकको माम्खा राम्चे तथा टेकनपुर गाविसमा ठूलो क्षति गरेको थियो । माम्खा गाविसको २४ घर रहेको सिङ्गो गाउँ बगाउँदा एक सय बढी व्यक्तिको मृत्यु भएको छ ।
















प्रतिक्रिया