भर्खरै सम्पन्न एमालेको नवौँ महाधिवेशनलाई तपाईंले कसरी समीक्षा गर्नुभएको छ ?
हामीले महाधिवेशन जुन समयमा सम्पन्न गर्यौँ, त्यो समयको हिसावले प्रतिकुल थियो । दोस्रो कुरा हामीले महाधिवेशनका समयमा नांगो गुटवन्दी गर्यौँ । वास्तवमा भन्ने हो भने त्यो उपयुक्त थिएन । तर, यी दुवै कमजोरीका बीचमा पनि महाधिवेशन भव्यरुपमा सम्पन्न भयो यो खुशीको कुरा हो । कहाँसम्म भने हाम्रा नेताहरूले प्यानल बनाएर उम्मेदवारी दिने मात्र होइन, मत मत्रमै दुई प्यानल स्पष्ट उल्लेख गर्नुभएको थियो । ती सबै कुरालाई चिरेर पनि महाधिवेशनमा नेतृत्व छनोटका लागि गरिएको निर्वाचनमा जुन खालको परिणाम आयो । त्यो राम्रो परिणाम आएको हो भन्न सकिन्छ । मत परिणामलाई हेर्दा एमाले कार्यकर्ताले भित्रै मनदेखि पार्टीलाई एक ढिक्का बनाएर लैजाने उद्देश्यले मत हालेको देखियो । माथि नेताहरू पदका लागि लुछाचुडी गरे पनि तल कार्यकर्ताहरू भने पार्टीलाई एकताका साथ अगाडि बढाउन खोजेको देखियो । कार्यकर्ताको यो भावनालाई हामीले सम्मान गर्नुपर्छ र उनीहरूको भावनाअनुसार पार्टीलाई अझ सुदृढ, संठठित र बलियो बनाउनुपर्छ । त्यो हाम्रो काँधमा आएको छ ।
अर्को कुरा नेकपा एमालेले विचार, सिद्धान्त र जनताको बहुदलीय जनवादको हिसावले जुन खालको निर्णय गरेको छ । यी निर्णयहरू युगिन महत्वका निर्णयहरू छन् । अहिले हामीले पार्टी पंक्तिलाई नै राम्ररी बुझाउन सकेका छैनौँ । यो किन त्यस्तो भइरहेको छ भने हामी विगत ६५ वर्षदेखि जुन ढंगले अघि बढिरहेका छौँ अथवा जुन आन्दोलन हामीले चलाएका छौँ । त्यो भन्दा अघि हामी बढ्न सकेका छैनौँ ।
अहिले नेकपा एमालेले जुन बाटो समातेको छ । यसले एमालेलाई कम्तिमा चालिस–पचास वर्षअघि बढाउन सक्छ । त्यसकारण पनि अहिले हामीले समातेको बाटो सही छ भन्ने मैले ठानेको छु । यस हिसाबले हेर्ने हो भने निक्कै धेरै कमजोरीका बीचमा पनि हामीले नवौँ महाधिवेशनबाट लिएको बाटो र समातेको दिशा सही छ । यसले आगामी दिनमा बाम आन्दोलनलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने छ ।
नवौँ महाधिवेशनमा तपाईंहरूले उठाउनु भएको नेतृत्व हस्तान्तरणको मुद्दाले आगामी दिनमा कस्तो बाटो समाउने आशा गर्न सकिन्छ ?
नेतृत्व वा पुस्ता हस्तान्तरण आदि इत्यादि जे भने पनि सबैभन्दा महत्वपूर्ण कुरा भनेको पार्टीले समयको भाषा बुझ्छ कि बुझ्दैन भन्ने महत्वपूर्ण कुरा हो । यदि पार्टी वा नेतृत्वले समयको भाषा बुझ्न सक्यो भने पार्टीको सिद्धान्त, नीति र विचार अघि बढ्न सक्छ । त्यसका लागि नेतृत्वमा भर पर्छ । त्यसैले यो नेतृत्व वा पुस्ता हस्तान्तरण भन्ने कुरा प्राविधिक कुरा मात्र हो ।
हामीले हेर्ने भनेको महाधिवेशनले के निर्णय गरेको छ त्यो निर्णय लागू गर्ने प्रमुख कुरा हो । मैले माथि पनि उल्लेख गरेँ । हामीले जे निर्णय गरेका छौँ, ती निर्णय युगिन महत्वका निर्णय छन् । ती निर्णय हामीले बुझ्नु पर्छ । हामीले पार्टीका सबै कार्यकर्ता र बाम आन्दोलनमा सक्रिय सबैलाई बुझाउनु पर्छ । त्यति मात्र होइन यो कुरा हामीले समग्र नेपालको राजनीतिमा बुझाउन जरुरी छ । नेतृत्वको अग्निपरीक्षा पनि यही नै हो ।
महाधिवेशनका बेला देखिएको नांगो गुटवन्दीलाई अन्त्य गर्न अब के गर्नुपर्ला त ?
आठौँ महाधिवेशन हामी जुन तरिकाबाट प्रस्तुत भयौँ, त्यो हामीले पहिला नै योजना बनाएर गरेको प्रस्तुति थिएन । हामीले यो कुराको हेक्का राख्नुपर्छ । आठौँ महाधिवेशनकै बेला पनि म र हामी जस्ता दोस्रो पुस्ताका व्यक्तिहरूले पार्टीलाई एकतावद्ध बनाएर अघि बढाउन ठूलो प्रयत्न गरेका थियौँ । त्यति मात्र होइन एमालेको नेतृत्वको सरकार भएका बेला जति बेला माधव नेपाल मुलुकको प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यति बेला तत्कालीन पार्टी अध्यक्ष झलनाथ खनाल र प्रधानमन्त्रीबीच बढेको दूरी कम गराउन पनि हामीले ठूलो प्रयत्न गरेका थियौँ ।
तर, हामी त्यति बेला विभिन्न कारणले असफल भयौँ । त्यसपछि पनि हामीले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्री बनाएर पार्टीभित्रको खटपटलाई सामन्यीकरण गर्ने ठूलो प्रयत्न गरेकै हो । त्यतिबेला पनि हामीले जुन खालको लक्ष्य र उद्देश्य लिएका थियौँ, त्यो हदसम्म सफल हुन सकेनौँ । पार्टीभित्र जकडिएको गुटवन्दीले हामीलाई लक्ष्यसम्म पुग्न दिएन । त्यति मात्र होइन वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई वरियातामा तेस्रो बनाउने र पार्टीभित्रको असमझदारीलाई कम गर्ने कुरामा पनि हाम्रो भूमिका महत्वपूर्ण नै रहेको थियो । त्यसको अगुवाई साँच्चै भन्ने हो भने मैले नै गरेको थिएँ । त्यति नगर्ने हो भने सही गतिले पार्टी अघि बढ्न सक्ने अवस्थामा थिएन ।
नवौँ महाधिवेशनपछि एउटा कोर्सको अन्त्य भएको छ । हिजो संस्थापन भन्ने अहिले छैन । गैरसंस्थापन भनिने केपी शर्मा ओली अहिले नेतृत्वमा हुनुहुन्छ । त्यसकारण अध्यक्ष केपी ओलीले सबैलाई समेटेर लैजाने पलहकदमी गरेको अवस्थामा पार्टीको गुटबन्दी हराएर जाने छ । मैले यो अपेक्षा गरेको छु । लामो समयदेखि उहाँले नेतृत्वमा आउन खोज्नु भएको थियो । अहिले उहाँ नेतृत्वमा हुनुहुन्छ । त्यसकारण पनि विगतमा देखिएका गुटवन्दी कम होलान भन्ने अपेक्षा गर्न सकिन्छ । उहाँ आफैँ विभाजित हुनु भएन भने यो पार्टी अझ गतिशील भएर अघि बढ्ने छ । पार्टीको नेतृत्व भएकाले त्यसको सबै जिम्मेवारी उहाँले नै लिनुपर्छ । हामीले त उहाँलाई सहयोग गर्ने मात्र हो ।
दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी तपाईंहरूले कसरी गर्नुभएको छ ?
दोस्रो बैठकको तयारी अपेक्षाकृत केही ढिला भएको छ । हामीले दोस्रो बैठकमा गर्ने निर्णय पार्टीका लागि सर्वथा नयाँ र विशेष महत्वका हुनेछन् । यसरी हेर्दा हामीले दोस्रो बैठकलाई जति समय दिनुपर्ने हो त्यो समय दिन सकिरहेका छैनौँ । हामीले तयारी गर्न नसक्नुका पछाडि विभिन्न कारण रहेका छन् । पहिलो कुरा त अध्यक्ष केपी कमरेड नै उपचारका सिलसिलामा विदेश जानुपर्ने भयो । अहिले उहाँ फर्किर आएपछि पनि विभिन्न कारणले हामीले तयारी तीव्र गर्न सकेका छैनौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले पनि हाम्रो तयारीमा केही अवरोध गरेको छ ।
चुनावी प्रतिस्पर्धामा हार्नु भएका माधवकुमार नेपाललगायत अन्यलाई कुन खालको जिम्मेवारी दिने तयारी भएको छ ?
त्यसका लागि खासै कुनै गृहकार्य आवश्यक छ जस्तो लाग्दैन । माधवकुमार नेपाल हाम्रो पार्टीको मात्र सिनियर नेता होइन । उहाँ देशकै नेता हो । पार्टीकै सन्दर्भको कुरा गर्ने हो भने पनि अहिलेका जीवित नेतामध्ये लामो समय नेतृत्वमा रहेर काम गर्नुभएको व्यक्ति नेपाल नै हो । त्यसैले उहाँको त्यही अनुरुपको स्थान रहने छ । अन्य नेताको सन्दर्भमा पनि त्यही अनुरुपको जिम्मेवारी हुने छ ।
पार्टी महाधिवेशन क्रममा देखिएको गुटवन्दीको प्रभाव अहिले पनि उत्तिकै छ । यसलाई अन्त्य गरेर पार्टीलाई एक सूत्रमा बाँधेर लैजान तपाईंहरूको भूमिका कस्तो हुने छ ?
पार्टीलाई एकतावद्ध बनाउने दुई वटा पक्ष छन् । पहिलो भनेको नेतृत्व निष्पक्ष हुनुपर्छ । त्यो भयो भने त्यहाँ गुट–उपगुटको प्रभाव त्यसै हराएर जान्छ । त्यसो गर्नका लागि नेतृत्वले काखा–पाखाको दृष्टिकोण राख्नु हुँदैन । दोस्रो कुरा पार्टीको महाधिवेशनबाट पारित गरेका नीति, विचार र सिद्धान्तलाई लागू गर्ने सन्दर्भमा सहमति–असहमति देखा पर्छन् । त्यो स्वाभाविक कुरा हो । त्यो अवस्थामा पनि नेतृत्व सक्षम हुन आवश्यक हुन्छ । त्यो भयो भने पनि गुटवन्दी स्वत: समाधान भएर जान्छ । नेतृत्वको मूल्याङ्कन त्यहीबाट सुरु हुन्छ । पार्टीका सबै तहको मूल्याङ्कन पनि त्यहीबाट हुन्छ । जब मानिस पार्टीका नीति, विचार, सिद्धान्त भन्दा बाहिर गएर केही विशेषमा अन्धो हुन्छ अनि त्यहाँ गुटवन्दी सुरु हुन्छ ।
सरकारको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?
यो संयुक्त सरकार हो । कांङ्ग्रेस नेतृत्वको संयुक्त सरकार भएकाले हामीले भनेको जस्तो काम गर्न सकेका छैनौँ । कतिपय कमजोरी यो सरकारमा देखिएका छन् । तर, हामी नेपालमा नयाँ संविधान जारी गर्ने महान अभियानसहित यो सरकारमा छौँ । यो सरकारको मूल्याङकन संविधान निर्माण भए नभएकोसँग जोडेर हेर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ । यस विषयमा आगामी केन्द्रीय कमिटीको बैठकमा व्यापक छलफल हुने नै छ ।














प्रतिक्रिया