३० आश्विन २०८३, शुक्रबार

म्याग्दी कारागारमा क्षमता भन्दा तेब्बर कैदी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

00

मालती खत्री
म्याग्दी, साउन २० । जिल्ला कारागार कार्यालय म्याग्दीमा क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी बस्दै आएका छन् ।

२५ पुरुष र ७ महिला गरी जम्मा ३२ जनाको क्षमता रहेको म्याग्दी कारागारमा विभिन्न अभियोगमा सजाय भोगिरहेका ८८ जना कैदीबन्दीहरु बस्दै आएको कार्यालयका खरिदार तथा सूचना अधिकारी रमेश रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कारागारमा कर्तव्य ज्यान र जबरजस्ती करणीका सबैभन्दा बढी कैदीबन्दीहरु छन् । अहिले उक्त कारागारमा कर्तव्य ज्यान मुद्दामा ३० जनाले कैद भुक्तान गरिरहेका छन् भने सोही अभियोगमा ६ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

त्यसैगरी जबरजस्ती करणीतर्फ १५ जनाले कैद भुक्तान गरिरहेकोमा १० जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ । कार्यालयको रेकर्ड अनुसार ज्यान मार्ने उद्योग, नकबजनी चोरी, केही सार्वजनिक अपराध, कुटपिट तथा अंगभंग हातहतियार तथा खरखजनालगायतका विभिन्न विषयका ६४ जना कैदीबन्दी र २४ जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

कैद भुक्तान गर्ने चार जना महिलामध्ये कर्तव्य ज्यान मुद्दामा ३ र सोही अभियोगमा एक जनालाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।

क्षमताभन्दा झण्डै तेब्बर संख्यामा कैदीबन्दी बस्दै आएकोबारे जिज्ञासा राख्दा कारागार कार्यालयका प्रमुख खगराज शर्माले भन्नुभयो–‘क्षमताभन्दा धेरै संख्यामा कैदीबन्दी राख्नु हाम्रो मात्रै समस्या होइन, यो राष्ट्रियस्तरमै देखिएको साझा समस्या हो ।’ उहाँले पोखरा, काठमाडौंलगायतका साधनस्रोत सम्पन्न कारागारमा पनि क्षमताभन्दा पाँचौं गुणासम्म बढी कैदीबन्दी राखिएको बताउनुभयो ।

श्र्माले आफु मातहतको कार्यालयको भौतिक सुधारका लागि पहल गर्न कारागार व्यवस्थापन विभागमा विस्तृत योजनासहितको प्रस्ताव नै पेश गरेको पनि जानकारी दिनुभयो । ‘करिव ४० लाखको योजना पेश गरेको छु,’ उहाँले भन्नुभयो, ‘योजना स्वीकृत भएर आएमा अहिलेको संरचना परिवर्तन भई झण्डै साढे २ सय क्षमताको कैदीबन्दी गृह निर्माण हुनेछ ।’
प्रस्ताव पारित भएर आएमा कार्यालय तथा कर्मचारी आवास, कैदीबन्दीका लागि थप आवासीय भवन र पर्खाललगायतका पूर्वाधारको योजनाले पूर्णता पाउने उहाँको भनाई छ ।