काठमाडौँ, १९ साउन । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्रीको नरेन्द्र मोदीको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासँग भेट्ने कार्यतालिका थिएन । तर, थापाका तर्फबाट भारतीय दुतावासमा तीव्र लबिङ भएपछि अन्तिममा थोरै समय निकालेर थापालाई भेटे ।
प्रमुख तीन दलसँग मात्र भेट्ने कार्यसूची रहेकोमा अन्तिम समयमा मोदीले थापासँग पनि भेट्ने समय मिलाएका थिए । यसो त आइतबार संसदमा मोदीले संघियता र गणतन्त्रको विषयमा बोलेकोमा थापाले असन्तुष्टि जनाएका थिए ।
हायात होटलमा भएको भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा यथाशक्य चाँडो संविधान निर्माण हुन सकोस् भन्ने चाहना राखेको र भारतको तटस्थ भूमिका रहने उल्लेख गर्नुभएको भेटपछि थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।
मोदीसँग थापाले के के भने ?
भेटमा राप्रपा नेपालका अध्यक्ष थापाले भने खासगरि तीन वटा विषयमा कुराकानी केन्द्रीत गर्नुभएको थियो । भेटपछि राप्रपा नेपालका केन्द्रीय सदस्य मोहन श्रेष्ठले जारी गरेको विज्ञप्ति जस्ताको तस्तैः
प्रेस विज्ञप्ति
नेपालको दुई दिने औपचारिक भ्रमणमा रहनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राप्रपा नेपालका अध्यक्ष कमल थापा वीच आज अपरान्ह शिष्टाचार भेट भएको छ । भेटका क्रममा अध्यक्ष थापाले भारतीय प्रधानमन्त्री समक्ष देहायका बिषयबस्तुहरुलाई प्राथमिकताका साथ उठाउनु भएको छ ः
१. नेपालको राष्ट्रिय राजनीतिमा प्रष्टसँग दुई वटा धार रहेको र एउटा धारको नेतृत्व राप्रपा नेपालले गरिरहेको छ । कुनै एउटा मात्र धारको विचारका आधारमा धारणा वनाउनु अपुर्ण हुन्छ । जहाँसम्म संविधान निर्माणको प्रश्न छ सवै बिषय अर्थात गणतन्त्र कि राजासहितको प्रजातन्त्र, धर्म निरपेक्षता कि हिन्दुराष्ट्र, संघीयता कि स्थानीय स्वायत्त शासन जस्ता बिषयहरु छलफल कै क्रममा रहेकाले मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायले यि बिषयहरु नेपालको आन्तरिक मामिला भएकाले सकारात्मक र रचनात्मक धारणा राखिनु पर्ने उल्लेख गर्नु भयो । प्रतिउत्तरमा भारतीय प्रधानमन्त्री मोदीले एउटा असल छिमेकीको हिसावले नेपालमा यथाशक्य चाँडो संविधान निर्माण हुन सकोस् भन्ने आफ्नो चाहना रहेको र भारतको तटस्थ भूमिका रहने उल्लेख गर्नु भयो ।
२. नेपालमा विगत केही समयदेखि संगठित र योजनावद्ध ढंगबाट धर्म परिवर्तन भईरहेको, धर्म परिवर्तनको निशानामा आदिवासी, दलित, जनजाति र अल्पसंख्यक समुदाय परिरहेको तथा यसले नेपाल मात्र नभई भारतलाई समेत प्रभाव पार्न सक्ने अध्यक्ष थापाले उल्लेख गर्नु भयो । प्रतिउत्तरमा प्रधानमन्त्री मोदीले यस बिषयमा आफुलाई थाहा भएको र यो गम्भिर बिषय भएकाले यस सम्बन्धमा थप जानकारी हासिल गर्ने वताउनु भयो ।
३. नेपालको वर्तमान समस्या गरिबी र बेरोजगारी रहेको र औद्योगिकिकरणको दिशामा जानु पर्नेमा अध्यक्ष थापाले जोड दिनु भयो । नेपाली उत्पादनको लागि बजारको आवश्यकता पर्ने र भारतीय बजार उपयुक्त हुने उल्लेख गर्नु हुँदै अध्यक्ष थापाले सहज र सरल तरिकाबाट भारतीय बजारमा नेपाली उत्पादनको पहुँच, विक्रि, वितरण गर्नका लागि उपयुक्त व्यवस्था हुनु पर्नेमा समेत जोड दिनु भयो । प्रतिउत्तरमा प्रधानमन्त्री मोदीले यस बिषयमा आफु सकारात्मक रहेको वताउनु भयो ।
२० मिनेट भएको भेट राजधानीको हायात होटलमा सम्पन्न भएको थियो ।
मोहन श्रेष्ठ
सह प्रवक्ता
राप्रपा नेपाल














प्रतिक्रिया