काठमाडौं, १५ साउन । सुरक्षा अवस्थालाई ध्यानमा राख्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र लुम्बिनीको भ्रमण स्थगित गरिएको छ ।
सुरक्षा खतरा बढेको भन्दै मोदीको भ्रमण तालिका हेरफेर गरिएको हो । बिहीबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले मोदीको जनकपुर र लुम्बिनीको भ्रमण स्थगित गरिएको जानकारी गराएको एक मधेशी नेताले जानकारी दिए ।
उपत्यका बाहिर मोदीलाई लैजाँदा आतंकवादी खतरा हुनसक्ने र सुरक्षा चाँजोपाँजो मिलाउन कठिनाइ पर्ने भन्दै अन्तिम समयमा मोदीको उपत्यकाबाहिरको भ्रमण रद्द गरिएको हो ।
मोदीको भ्रमणका बारेमा पाकिस्तानी दुतावासका कर्मचारीले सूचना संकलन गरिरहेको तथा भारतीय नक्सलवादी र पृथकतवादी लस्कर ए तोइबाबाट खतरा हुनसक्ने भन्दै भारतीय दुतावासले सरकारको ध्यानाकर्षण गराएको स्रोतको दाबी छ । सरकारी गुप्तचर संस्थाले मोदीको भ्रमण निश्चित भएपछि केही शंकास्पद व्यक्तिहरुको सक्रियता देखिन थालेको गृह मन्त्रालयलाई जानकारी गराएको बताइएको छ ।
आइतबारबाट हुने मोदीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । जसका कारण विषेश सुरक्षा दिने उद्देश्यले भारतीय गुप्तचर तथा सुरक्षाकर्मीले काठमाडौंमा सक्रियता बढाएका छन् ।
मोदीको भ्रमण हुनु भन्दा केही दिन अघिदेखि नै उच्च तहको सुरक्षा दिनका लागि भारतको गुप्तचर दस्ता, सेना, प्रहरी तथा विशेष सुरक्षा निकायका अधिकारीहरूको एउटा समूह काठमाडौंमा आइसकेको छ ।
भ्रमणका क्रममा मोदीले बुलेटपुफ्र गाडी प्रयोग गर्ने बताइएको छ । उक्त गाडीको सम्पूर्ण व्यवस्थापन पनि भारतीय पक्षले नै हेर्नेछ ।
त्यससँगै मोदीको सुरक्षाकै लागि भनेर भारतबाट विषेश तालिमप्राप्त कुकुर समेत झिकाइएको छ । त्यति मात्र होइन, भारतका प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीको सुरक्षाव्यवस्था सम्हाल्दै आएको स्पेसल प्रोटेक्सन ग्रुपको एउटा स्क्वाड नै नेपाल आएर विषेश खालको निगरानी गरिरहेको स्रोतको भनाई छ ।
भारतीय दूतावासको सुरक्षा निकाय पनि अहिले चनाखो बनेको छ । नेपालका तर्फबाट सुरक्षका तीन ओटै निकाय मोदीको सुरक्षामा खटिने छन् ।
मोदी साउन १८ र १९ गते दुई दिनका लागि विशेष विमान मार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । मोदी आउनु भन्दा करिब आधा घन्टा अगाडि र पछाडि समेत विमानस्थलबाट कुनै पनि विमान अवतरण र उडान हुने छैनन् ।
मोदीले विषेश पुजापाठ गर्ने भनिएको पशुपतिनाथ मन्दिरमा पनि एक घन्टा अगाडि नै दुबै देशका सुरक्षाकर्मीले पशुपतिनाथ परिसरमा विषेश सुरक्षा दिनेछन् । त्यो समयमा अन्य सबैलाई प्रवेशमा रोक लगाइने छ ।














प्रतिक्रिया