२९ आश्विन २०८३, बिहिबार

ओलीले एयरपोर्टमै भने- ‘सत्ता गठबन्धनमा संकट आउन सक्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli

काठमाडौँ, १३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग भएको सहमति कार्यान्वयन नभए सत्ता गठबन्धनमा संकट आउन सक्ने संकेत गर्नुभएको छ ।

स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएका ओलीले मंगलवार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सरकार गठनअघि नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमति असक्षरशः पालना नभए सत्ता गठबन्धनमा संकट आउने समेत संकेत गर्नुभयो ।

सातबुँदे सहमति दराजमा थन्क्याउनका लागि गरिएको नभएको उहाँको भनाई थियो । त्यसैगरी उहाँले राष्ट्रपति र उपराष्ट्रपतिलाई व्यवस्थापिका संसदले अनुमोदन गर्नुपर्ने वा नयाँ निर्वाचनमा जाने बाहेक अरु विकल्प नभएको पनि स्पष्ट पार्नुभयो । कांग्रेसले राष्ट्रपति अनुमोदनको कुरा सकिएको दाबी गर्दै आएको छ ।

अध्यक्ष ओलीले पार्टीको महाधिवेशनले निर्देश गरे अनुरुप एमालेले आफ्नो कदम अघि बढाउने बताउनु भयो।

ओलीलाई स्वागत गर्न विमानस्थलको विशिष्ठ कक्षमा कार्यवाहक अध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव बिष्णु पौडेल, सचिवहरु प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य लगायतका नेताहरु पुग्नु भएको थियो ।

बृद्ध नेता भरतमोहन अधिकारी पनि ओलीको स्वागतमा विमानस्थल पुग्नु भएको थियो । अध्यक्ष ओली फङ्गल संक्रमणका कारण दायाँ हात सुन्निने क्रम नघटेकाले थप उपचार गराउन साउन ६ गते सिंगापुर जानुभएको थियो ।

सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराई ओली साउन ९ गते डिस्चार्ज हुनुभएको थियो ।