बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

पशुपतिमा ब्राह्मणलाई जागिर खुल्यो, कस्को भाग्य चम्किएला ?

दैनिक नेपाल २०७१ साउन १० गते १७:४९

Pashupati-dec

काठमाडौं, १० साउन । पशुपति क्षेत्र विकास कोषले पशुपतिमा पूजाआजा गराउन माग गरेका ब्राह्मणको आवेदनमाथि छानबिन सुरु गरेको छ ।

पशुपतिमा पूजाआजा गराउनेहरु ब्राह्मणभन्दा गैह्रब्राह्मण भएको गुनासो भक्तजनबाट आएपछि उपाध्याय ब्राह्मणले मात्र पूजाआजालगायतका कर्मकाण्ड गराउन पाउने गरी आ–आफ्नो गाविसबाट उपाध्याय ब्राह्मण भएको सिफारिससहित निवेदन दिन दरखास्त माग गरिएको कोषका सदस्यसचिव डा गोविन्द टण्डनले जानकारी दिनुभयो ।

कोषले माग गरेबमोजिम ३३० जनाको निवेदन पशुपतिमा कर्मकाण्ड गराउन पाउँ भनी परेको पनि सदस्यसचिव टण्डनले जानकारी दिनुभयो । ती निवेदनमाथि छानबिन गरी छिट्टै निर्णय गरिने पनि उहाँले बताउनुभएको छ ।

पशुपतिमा पूजाआजाका नाममा जथाभावी हुन थालेकाले पनि व्यवस्थित गर्नुपरेको कोषले जनाएको छ । घरमा पूजाआजा गराउन ब्राह्मण खोज्नेले पशुपतिमा पूजाआजा गराउन ब्राह्मणको आवेदन माग गर्दा आपत्ति जनाउनु रहस्यको कुरा भएको पनि उहाँले बताउनुभयो ।

राज्य धर्म निरपेक्ष भएपनि व्यक्ति धर्म निरपेक्ष नभएकाले कोषले पूजाआजाका लागि उपाध्याय ब्राह्मणको माग कर्म गराउने भक्तजनको मागबमोजिम नै गरेकाले पनि यो कदम व्यक्तिको स्वतन्त्रताबमोजिम नै भएको ठहर कोषले गरेको छ ।

कोषले माग गरेको उपाध्याय ब्राह्मणको आवेदनका विषयमा बिहीबारको संसद्मा समेत प्रश्न उठेपछि रासससित प्रतिक्रिया दिँदै सदस्यसचिव टण्डनले धर्म निरपेक्षका नाममा व्यक्तिको धार्मिक स्वतन्त्रतामाथि रोक लगाउने खालका काम गर्ने भए पशुपति क्षेत्र विकास कोष र लुम्बिनी विकास कोषजस्ता संस्था पनि विघटन गरिनुपर्ने बताउनुभएको छ ।

धर्म निरपेक्षता भनेको सबै धर्मप्रति समान व्यवहार भनिएको हो र यसका नाममा विश्व सम्पदा सूचीमा सूचीकृत सांस्कृतिक स्थलको परम्परामाथि रोक लगाउन नहुने पनि कोषको स्पष्ट दृष्टिकोण रहेको पनि डा टण्डनले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित