भक्तपुर, ७ साउन । भक्तपुर प्रहरीले छ लेन सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि सडक लेनसम्बन्धी अनुशासनलाई कडाइका साथ कार्यान्वयन गरेको छ ।
छ लेन सडकमा चालकको लापरबाहीपूर्ण व्यवहारले दुर्घटना बढेपछि प्रहरीले सडक लेन अनुशासनमा कडाइ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक जगतमान श्रेष्ठले जानकारी दिनुभयो ।
“चोकचोकमा तैनाथ प्रहरीले पहिलो चरणमा तीव्र गतिमा सवारी चलाउने चालकलाई चेतावनी दिएर सम्झाउने गरिएको छ”–मङ्गलबार सल्लाघारीस्थित सृजनानगर चोकमा ट्राफिक व्यवस्थापनमा खटिएका श्रेष्ठले भन्नुभयो–“सडकको बायाँ लेनबाट मात्र सवारी चलाउने नियम उल्ल्ङ्घन गर्ने चालकलाई पनि कारबाही थालिएको छ ।”
छ लेन सडकमा प्राविधिक गडबडीले भन्दा पनि चालकको लापरबाही, तीव्र गति र जथाभावी ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना हुने गरेको छ ।
गत आवमा मात्र २५० भन्दा बढी दुर्घटना चालकको लापरबाहीपूर्ण व्यवहारले भएको तथ्याङ्क छ । यसलाई न्यूनीकरण गर्दै सुरक्षित सडकका रूपमा विकास गर्न सडक लेनसम्बन्धी अनुशासनलाई कडाइ गर्न थालिएको श्रेष्ठले बताउनुभयो ।
पहिलो चरणमा चेतावनी दिने र केही दिनपछि दोस्रो चरणअन्तर्गत सवारी नियमबमोजिम चालक अनुमतिपत्र लिने तथा नियमानुसारको जरिवाना तिराइने उहाँले जानकारी दिनुभयो ।














प्रतिक्रिया