२९ आश्विन २०८३, बिहिबार

मलेसियन एयरलायन्सको रहस्यमय दुर्घटनापछि विश्वभर हलचल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????

ग्रावोभ (युक्रेन), २ साउन । मलेसियन एयरलायन्सको विमान रहस्यमय दुर्घटनापछि विश्वभर तरंग छाएको छ ।

बिहीबार राति दुर्घटनाग्रस्त भएको विमान आफै दुर्घटनामा परेको नभई युक्रेनमा बिद्रोह गरिरहेका रसियाली समर्थक विद्रोहीले खसालेको अमेरिकाले बताएको छ ।

सो विमान बिहीबार दुर्घटनाग्रस्त भएको थियो । त्यस दुर्घटनामा परी २९८ जना यात्रुको ज्यान गएको छ । मलेसियाली विमान युक्रेनको आकासबाट खसेको हो ।

पूर्वी युक्रेनमा विद्रोह गरिरहेका विद्रोहीले विश्वको ध्यानाकर्षण गराउन तथा विश्वव्यापी रुपमा त्रास फैलाउनका लागि सो विमान तिनै विद्रोहीले खसालेको अनुमान अमेरिकाले गरेको छ ।

साथै युक्रेनले पनि रसियाली समर्थनमा हालैका दिनमा विद्रोह गरिरहेका विद्रोहीले नै सो विमान क्षेप्यास्त्र हानेर खसालेको बताएको छ ।

सो घटनाले विश्वको ध्यानाकर्षण गराएको छ । शुक्रबारका विश्वका अखबारहरुका साथै अन्य सञ्चारमाध्यममा पनि सो समाचारले प्राथमिकता पाएको छ ।

उनीहरुले सो समाचारका कारण विश्वमा निकै ठूलो त्रास फैलाएको भन्दै उक्त दुर्घटनाको गहन रुपमा अध्ययन एवम् अनुसन्धान हुनुपर्ने बताएका छन् ।

उक्त कार्यलाई आतङ्ककारी कामको संज्ञा दिँदै यसले पूर्वी युक्रेनमा भइरहेको विद्रोहमाथि नै निकै ठूलो प्रश्न उठाएको विश्वका नेताहरुले बताएका छन् ।

विमान आम्स्ट्रडमबाट मलेसियाको राजधानी क्वालालम्पुतर्फ जादै गरेको थियो । यो विमान दुर्घटनाले मलेसियालाई थप चिन्तित बनाएको छ ।

यसअघि पनि मलेसियाली विमान सेवाको विमान हराएको थियो र त्यसको अझैपनि पत्ता लगेको छैन । सो दुर्घटनाको चार महिनापछि शुक्रबार पुनः अर्काे विमान दुर्घटना भएर करिब ३०० नागरिकको ज्यान गएको छ ।

विमानमा २८३ जना यात्रु तथा बाँकी १५ जना चालक दलका सदस्य एवम् विमानका कर्मचारी रहेका बताइएको छ । मलेसियाली विमान सेवाको एमएच १७ उडान दुर्घटनामा परेको हो ।

विमान खसालेको बारेमा भने कुनैपनि समूहले जिम्मेवारी लिएको समाचार कतै आएको छैन । तर युक्रेनमा रहेको विद्रोही समूहका प्रमुखले भने सो विमान विद्रोहीहरुले असावधानीबस खसालेको हुन सक्ने बताएका छन् ।

उनले भनेको भनी सार्वजनिक गरिएको एक समाचारमा भनिएको छ– युक्रेन सरकारले आफ्ना सेना बोकेको आशङ्कामा युक्रेनका विद्रोहीले असावधानीबस सो विमान खसालेका हुनसक्छन् ।

अन्तर्राष्ट्रिय स्तरको छानबीन आयोग माग

यसैबीच सो दुर्घटनाको छानबीनका लागि एक अन्तर्राष्ट्रियस्तरको छानबीन आयोग गठन गर्न अमेरिकालगायतका विश्वका आधिकांश देशले माग गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सो समाचार अत्यन्तै दुःखद हो भन्दै यसले विश्वमा नै हवाई सुरक्षामा चिन्ता उत्पन्न गरेकोले एक विश्वासिलो र अन्तर्राष्ट्रियस्तरको अनुसन्धान आयोग गठन गरी अनुसन्धान गरिनुपर्ने माग गर्नुभएको छ ।

उहाँले विमान दुर्घटना भएको स्थानलाई सुरक्षित राख्न तथा त्यसमा कुनैपनि वस्तुहरुलाई कतै नलगी अनुसन्धान आयोगको जिम्मा लगाउन पनि आग्रह गर्नुभएको छ ।

अमेरिकाले पूर्वी युक्रेनमा आन्दोलन गरिरहेका विद्रोहीहरुलाई रसियाले समर्थन एवम् सहयोग जारी नै राखेकोले यो दुर्घटना निम्तिएको भन्दै आगामी दिनमा यस घटनाबाट सिक्नुपर्ने सुझाव पनि दिनुभयो ।

डच प्रधानमन्त्री मार्क रुट, युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले पनि सो दुर्घटनाको छानबीनका लागि एक अन्तर्राष्ट्रिय स्तरको छानबीन आयोग गठन गर्नुपर्ने माग गर्नुभएको छ ।

उहाँहरुले यो आक्रमणमा विद्रोहीकै हात हुनसक्ने भन्दै त्यसको छानबीन हुनुपर्ने माग गर्नुभएको हो । यस दुर्घटनाले युक्रेनका विद्रोहीमाथिको रसियाको सम्बन्धका बारेमा पनि गम्भीर प्रश्न उठाएको पश्चिमा देशहरुको भनाई छ ।

साथै अन्य पश्चिमा राष्ट्रहरुले पनि सो विमान आफै दुर्घटनाग्रस्त भएको नभई क्षेप्यास्त्र हानेर खसालिएको हुनसक्ने अनुमान गर्दै छानबीनको माग गरेका छन् ।

जहाज राम्रो हालतमा थियो– मलेसिया एयरलाइन्स

उता मलेसिया एयरलाइन्सले सो जहाज राम्रो हालतमा रहेको बताएको छ । उक्त विमान सेवाले सो जहाज विगतमा नबिग्रिएको र निकै राम्रो हालतमा रहेको स्पष्ट गरेको छ ।

मलेसिाय एयरलाइन्सले एक विज्ञप्तिमार्फत सो जानकारी दिएको हो । सो विमान सेवाले उक्त विमान सन् १९९७ जुलाइमा बनेको र त्यसयता १७ वर्षदेखि उडानमा रहेको जनाएको छ ।

विगतमा सो विमानको हालतका बारेमा समय समयमा हेरिइराखिएको र त्यसको रेकर्ड कतैपनि नराम्रो नरहेको भन्दै उक्त जहाजले राम्रो सेवा दिइरहेको बताएको छ ।

साथै उक्त विमान उडेपछिदेखि नै सबै सञ्चार सेवाले राम्रोसँग काम गरिरहेको पनि सो एयरलाइन्सले जनाएको छ ।

दुर्घटनामा पर्नुपर्ने कुनैपनि कारण सो विमानमा नदेखिएको र उसको उडान रेकर्डबाट त्यस्तो समस्याको कुनैपनि कुरा कमजोरी नदेखिएको पनि विज्ञप्तिमार्फत सो एयरलाइन्सले जनाएको छ ।

भारतीय प्रधानमन्त्रीद्वारा समवेदना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनमा दुर्घटनाग्रस्त भएको विमानमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

उहाँले सो विमानमा परेका व्यक्तिका आफन्तहरुप्रति समवेदन प्रकट गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

मलेसियाली एयरलाइन्सको विमान बिहीबार पूर्वी युक्रेनमा दुर्घटनाग्रस्त भएको थियो । त्यस दुर्घटनामा परी दुईसय ९८ जना यात्रुको ज्यान गएको छ ।

सो दुर्घटनामा परी निधन हुने व्यक्तिहरुप्रति विश्वका अन्य नेताहरुले पनि हार्दिक समवेदन प्रकट गरिरहनुभएको छ ।

छानबिन गर्न दिन्छौँ– विद्रोही

पूर्वी युक्रेनमा बिहीबार भएको विमान दुर्घटनाको छानबीनका लागि आपूmहरुले अनुसन्धानकर्तालाई पहूँच दिने जानकारी युक्रेनको पूर्वी क्षेत्रमा विद्रोह गरिरहेका विद्रोहीले बताएका छन् ।

सो विमान आफै दुर्घटना नभई त्यहाँका विद्रोहीहरुले क्षेप्यास्त्र हानेर खसालेका भन्ने आरोप विश्वव्यापी रुपमा आइरहेका बेला विद्रोहीले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

ती विद्रोहीहरुले यदि सो विमानको दुर्घटनाका बारेमा छानबीन गर्न चाहेमा अनुसन्धानकर्ताहरुलाई निर्वाध रुपमा घटनास्थलमा गई छानबीनको अवसर दिइने उनीहरुले बताएका हुन् ।
शुक्रबार एक विज्ञप्ति प्रकाशन गर्दै उनीहरुले सो विषयमा जानकारी दिएका हुन् । साथै दुर्घटनास्थलमै पुगेर छानबीन गर्नेमात्र नभई स्थानीय अधिकारीहरुलाई पनि उद्वारका लागि अनुमति दिइएको उनीहरुले जनाएका छन् ।

पूर्वी युक्रेनमा विद्रोह गरिरहेका विद्रोहीले विश्वको ध्यानाकर्षण गराउन तथा विश्वव्यापी रुपमा त्रास फैलाउनका लागि सो विमान तिनै विद्रोहीले खसालेको अनुमान अमेरिकाले गरेको छ ।

बिहीबार राती दुर्घटनाग्रस्त भएको त्यस विमानमा रहेका २९८ जना यात्रुको ज्यान गएको छ । मलेसियाली विमान आम्स्ट्रडमबाट क्वालालम्पुर जाने क्रममा सो विमान युक्रेनको आकासबाट खसेको हो । रासस / एएफपी