कञ्चनपुर, ३२ असार । कञ्चनपुरको कृष्णपुर–१ पहरीयाकी २२ वर्षीया पार्वतीदेवी महराको घर नजिकैको जयशङ्कर सामुदायिक वनमा आज क्षतविक्षत अवस्थामा प्रहरीले शव बरामद गरेको छ ।
वनमा च्याउ टिप्न गएका स्थानीय बासिन्दाले महिलाको क्षतविक्षत अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मृतक महिला पन्ध्र दिनअघि मोबाइल चार्ज गर्न जान्छु भन्दै घरबाट निष्केपछि बेपत्ता भएकी थिइन् ।
उनका परिवारले पार्वती हराएको इलाका प्रहरी कार्यालय कृष्णपुरमा खोजतलासका लागि निवेदन दिएका थिए । प्रहरीले सम्भावित क्षेत्रमा खोजविन गरेपनि उनलाई फेला पार्न सकेको थिएन ।
इलाका प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक राजेन्द्र नाथले शवको प्रकृति शङ्कास्पद देखिएको बताउनुभयो ।
मृतक महिलाका देवर वीरबहादुर महरा र अर्का छिमेकी हर्कबहादुर महरालाई अनुसन्धानका लागि हिरासतमा राखी सोधपुछको कार्य भइरहेको प्रहरी निरीक्षक नाथले बताउनुभयो ।
देवर वीरबहादुरसँग मृतक महिलाको सधैं झै झगडा हुने र छिमेकीसँग मोबाइलको सिम फेला परेकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो ।
अज्ञात व्यक्तिको विभत्स हत्या
यता, नेपालगन्ज बजारको त्रिवेणी चोकस्थित एक घरमा अज्ञात व्यक्तिको विभत्स हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरका अनुसार स्थानीय रामशंकर वैश्यको निर्माणाधीन घरमा दाहिने हात छुट्टिएको, रगतपक्षे अन्दाजी ३५ वर्षीय युवकको हत्या भएको हो ।
सोही टोलका स्थानीयबासीले घरको छतमाथि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इँट्टा र कोदालो प्रहार गरी हत्या गरिएको हुन सक्ने घटनास्थलको प्रकृतिबाट अनुमान गर्न सकिने प्रहरीले जनाएको छ ।
घटनास्थलबाट भाँचिएको अवस्थामा कोदालो र कोदालोको बिँड तथा प्रहार भएको इँट्टा बरामद भएको छ । शव रहेको स्थानबाट करिब ५० मिटरको दूरीमा मृतकको चुँडिएको हात फेला परेको छ ।
प्रहरीले मृतकको परिचय पत्ता लगाउन तथा अपराधीको खोजी कार्यलाई तीब्र बनाएको जनाएको छ ।
















प्रतिक्रिया