काठमाडौं, ३१ असार । अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले नवौँ महाधिवेशनबाट नेता केपी शर्मा ओली विजयी भएपछि उहाँलाई शुभकामना दिनु भएको छ ।
नेता नेपालले चुनावको अन्तिम नतिजा घोषणा भएसँगै विज्ञप्ति जारी गरी उहाँलाई बधाई दिनुभएको हो ।
उहाँले दिएको शुभकामना जस्ताको तस्तैः
मितिः ३१ असार, २०७१
हार्दिक बधाई तथा शुभकामना
नेकपा एमालेको नवौं महाधिवेशनका सन्दर्भमा नेतृत्व चयनका लागि भएको लोकतान्त्रिक अभ्यास अनुरुप भएको मतदानमा सहभागी हुनुभएका सम्पूर्ण प्रतिनिधिहरुलाई हार्दिक वधाई तथा धन्यवाद ज्ञापन गर्दछु ।
उक्त मतदानामा म र मेरो समूहको पक्षमा मतदान गर्नुहुने सम्पूर्ण प्रतिनिधिहरु तथा विभिन्न क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछु ।
जनताको बहुदलिय जनवादको भावना अनुरुप हामीले अबलम्बन गरेको उच्च लोकतान्त्रिक अभ्यासका क्रममा देखिएका कतिपय कमी कमजोरीहरु हटाउँदै जान सकेमा यसले पार्टीलाई थप बलियो र एकताबद्ध बनाउन महत्वपूर्ण भुमिका खेल्ने मेरो विश्वास छ ।
नेपाल राष्ट्र र नेपाली जनताको समृद्धिका लागि नेकपा एमाले थप बलियो र एकताबद्ध हुनु र आर्थिक क्रान्तिको नेतृत्व गर्नु अनिवार्य छ । यसका लागि सु–स्पष्ट विचार र असल सँस्कृति सहितको जनताप्रति समर्पित पार्टी बन्नुपर्ने मेरो मान्यता रहिआएको छ । उक्त मान्यता प्रति म दृढ छु र रहिरहने छु ।
महाधिवेशन सम्पन्न भएको आजको दिनमा म कार्यकर्ताको मतको उच्च सम्मानका साथ पार्टी अध्यक्षमा निर्वाचित क. केपी शर्मा ओली सहित निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
साथै, पार्टीका अगाडि उपस्थित कार्यभारहरुलाई पूरा गर्न नयाँ नेतृत्वलाई पूर्ण सफलता मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्दछु ।
माधव कुमार नेपाल
पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता
नेकपा एमाले
















प्रतिक्रिया