काठमाडौँ, ३१ असार । पत्रकारले भनेका कुरा लेख्दैनन्, नभनेका कुरा समाचारमा आउँछ, पत्रकारका बिहान ४ बजे अनि राति १२ बजेसम्म २४ सैँ घण्टा जुनसुकै समयमा पनि फोन उठाउनुपर्छ ।
कुनै पनि समय पत्रकारलाई दिनुपर्छ भनेर कहाँ लेखिएको छ ? कुन बेला पत्रकारका फोन आउँछ भनेर जिब्रे र खल्तीमा समाचार लिएर हामी कहाँ हिँडेका हुन्छौँ र ? हामीलाई मानमर्दन गर्न खोजियो ।
बासी विवरणहरू लिएर प्रवक्ताहरू बस्छन्, त्यही जानकारी दिन्छन्, कुनै ‘ब्रेकिङ न्यूज’ नै प्रवक्ताहरूबाट आउँदैन । उपल्लो तहका सूचनामा कुनै पहुँच नै नभएकाहरू प्रवक्ता तोकिएका छन् । छिटो छिटो मन्त्रालयमा प्रवक्ता परिर्वतन भइरहन्छन् । पत्रकारसँग खुलेर प्रवक्ता कुरा गर्न चाहन्नन् । मन्त्रालयमा प्रवक्ता तोकिनु नतोकिनुमा हाम्रा लागि कुनै अर्थ राख्दैन ।
यी माथिका टीका टिप्पणी सूचना तथा सञ्चार मन्त्रालयद्वारा आयोजना हुने गरेका साप्ताहिक प्रवक्ता भेटघाटमा प्रवक्ता र सञ्चारकर्मी दुवै तर्फबाट आउने गर्दछन् । सरकारले हरेक सोमबार साप्ताहिक रूपमा हुने प्रवक्ता भेटघाटलाई अझ व्यवस्थित, मर्यादित र सूचना पाउने जनताको नैसर्गिक अधिकारलाई सुदृढ पार्ने माध्यम बनाउन चाहिरहेको छ भने प्रवक्ता भेटघाटमा कुनै विवरणभन्दा नयाँ नयाँ समाचारमूलक जानकारी र सूचनाका कुरा आओस् भन्ने पत्रकारले चाहिरहेका हुन्छन् ।
प्रवक्ता र सञ्चारकर्मी दुवैतर्फबाट आउने यस्ता गुनासालाई सम्बोधन गर्न सोमबार मन्त्रालयले सूचना प्रचारप्रसारमा नेपाल सरकारका विभिन्न निकायका प्रवक्ताहरूको भूमिकाबारे एक छलफल कार्यक्रम आयोजना ग¥यो । छलफलका सुरुमा प्रवक्ताहरूले सञ्चारकर्मीसँग आफूले झेल्नु परिरहेका समस्या जानकारी गराएका थिए ।
सञ्चारकर्मीले प्रवक्तासित झेल्नु परिरहेका समस्याबारे सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले जानकारी गराएका थिए । उहाँले भन्नुभयो – “प्रवक्ताहरू हामी(पत्रकार) मैत्री भएनन् भन्ने गुनासो आएको छ ।”
सुशासन (व्यवस्थापन र सञ्चालन) ऐन, २०६४ का अनुसार प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवम् कार्यालयले आफ्ना काम कारबाहीको विषयमा सरोकारवालालाई जानकारी दिन प्रवक्ता तोक्नुपर्ने व्यवस्था गरिएको छ । हाल सबै मन्त्रालय, विभाग एवम् सरकारी निकाय एवम् कार्यालयले प्रवक्ता र सूचना अधिकारी गरी दुई जनालाई फरकफरक जिम्मेवारी तोकिदिएका छन् ।
सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले आफूभन्दा माथिल्लो निकायसँग गहिरो सम्बन्ध भएका व्यक्तिलाई प्रवक्ताको जिम्मेवारी दिँदा पत्रकारबाट सूचना आएन भन्ने गुनासो हल हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रवक्ता र सूचना अधिकारीको फरकफरक जिम्मेवारी रहने चर्चा गर्दै उहाँले पत्रकारलाई प्रवक्ताले सूचना दिँदा राम्रो छाप छाड्नुपर्छ, एकपटकको छापले सधैँ सम्बन्धलाई सुदृढ पार्छ भन्नुभयो ।
सूचना तथा सञ्चारमन्त्री डा. रिजालले भन्नुभयो – “प्रवक्ता पत्रकारजस्तो, पत्रकार प्रवक्ता जस्तो बन्नुहुँदैन, सूचना पाउने जनताको अधिकारलाई कहीँकतैबाट आँच आउन दिनुहुन्न ।”
उहाँले भन्नुभयो– “प्रवक्ताको जिम्मेवारी गहन भएको हुँदा पत्रकारलाई कसरी विश्वासमा लिई काम गर्ने भन्ने कला प्रवक्तामा हुनु आवश्यक छ ।” मन्त्री डा. रिजालले आवश्यकभन्दा बढी नबोल्न र स्पष्ट कुरा राखिदिन प्रवक्ताहरूसँग आग्रह गर्नुभयो ।
सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमनप्रसाद शर्माले सुशासनका लागि उत्तरदायी सरकार आवश्यक पर्छ, यसका लागि प्रवक्ताहरूको भूमिका अहम् हुन्छ भन्नुभयो ।
मन्त्रालयका सहसचिव कविराज खनालले सरकारको नीति, कार्यक्रम र निर्णयहरूको प्रभावकारी प्रचारप्रसारको खाँचो रहेको बताउनुभयो ।
















प्रतिक्रिया