३० आश्विन २०८३, शुक्रबार

अध्यक्षले नक्कली कागज बनाएर बेचे संस्थाको जग्गा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalpurja

सोलुखुम्बु, २९ असार । सोलुखुम्बु साहित्यिक मञ्चको सदरमुकाम सल्लेरी–५ स्थित जग्गा संस्थाका अध्यक्ष एक्लैले नक्कली कागज बनाएर बिक्री गरेको खुलासा भएको छ ।

विसं २०६६ भदौ ३१ गते जग्गा बेचेको तथ्य सो जग्गामा आदिवासी जनजाति महासङ्घ समन्वय समिति सोलुखुम्बुले भवन निर्माण सुरु गरेपछि बाहिर आएको हो । साहित्यिक मञ्चको जग्गामा भवन बन्न थालेपछि खोजी गर्दा पाँच वर्षअघि अर्थात् २०६६ सालमै जग्गा बेचिएको खुल्न आएको सोही संस्थाका महासचिव महेश रानामगरले बताउनुभयो ।

महासचिव रानामगरका अनुसार सो जग्गा संस्थाका अध्यक्ष रामसंघर्ष थुलुङले एक्लै बेचेका हुन् ।

संस्थाले २०६२ सालमा चन्दा सङ्कलन गरेर सल्लेरी–५ स्थित कित्ता नम्बर २७७६ को जग्गा खरिद गरेको थियो । तर आफूहरुलाई थाहा नदिइकन जग्गा बेचेको संस्थाका उपाध्यक्ष पिटी लोप्चन बताउनुहुन्छ ।

उहाँका अनुसार अध्यक्ष थुलुङले जग्गा बेच्न संस्थाको नक्कली निर्णय र आफँैलाई प्रतिनिधि बनाएको चिठी बनाएर जिल्ला मालपोत कार्यालयबाट २०६६ साल भदौ ३१ गते जग्गा बेचेका हुन् ।

मालपोत कार्यालयको तथ्याङ्कअनुसार सोलुखुम्बु साहित्यिक मञ्चको जग्गा आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति सोलुखुम्बुलाई रु पाँच लाखमा बिक्री गरिएको हो ।

संस्थाका अध्यक्ष थुलङ भने विगत पाँच वर्षदेखि संस्था निष्क्रिय रहेको र संस्थाको नाममा ऋण रहेकाले सो ऋण तिर्न जग्गा बेचेको बताउनुहुन्छ । तर संस्थाका कोषाध्यक्ष पिके शेर्पाका अनुसार संस्थाको करिव रु एक लाख ऋण भएको र जग्गा बेचेको रकम अध्यक्षले एक्लै प्रयोग गरिरहेका छन् ।

दर्ता नम्बर १९१(२०५८÷५९) रहेको सो जग्गाको नवीकरण सोलुखुम्बु साहित्यिक मञ्चले पछिल्लो समयमा २०६६ साल भदौ १९ गते गरेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको अभिलेखमा उल्लिखित छ ।