१ कार्तिक २०८३, आइतबार

माधवतिरै लागे झलनाथ, यस्तो बन्दैछ संयुक्त प्यानल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanath-and-madhav
काठमाडौं, २३ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच संयुक्त प्यानल निर्माण गरेर नवौं महाधिवेशनको प्रतिस्पर्धामा जाने सहमति भएको छ।
खनाल निवास डल्लुमा आइतबार भएको छलफलमा अध्यक्षका प्रत्यासी नेपाल र खनालबीच यस्तो सहमति भएको हो। ‘आइतबार दिउँसो अध्यक्ष र वरिष्ठ नेताबीच संयुक्त प्यानल बनाएर जानेबारे सहमति भयो,’ पोलिटब्युरो सदस्य रघुजी पन्तले भने, ‘राजनीतिक प्रतिवेदन र विधानहरू पारित भएपछि संयुक्त प्यानलको नाम सार्वजनिक हुन्छ।’
उनका अनुसार प्यानल निर्माण पनि खनाल–नेपालले संयुक्त रूपमा गर्नेछन्। बैठकमा नेपाललाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा रहेका स्थायी कमिटीका नेता, पोलिटब्युरो र केन्द्रीय कमिटीका सदस्य सहभागी थिए।
यसअघि अध्यक्षका दुवै आकांक्षी नेपाल र संसदीय दलका नेता केपी शर्मा ओलीले खनाल आफ्नो पक्षमा रहेको बताउँदै आएका थिए। खनाल आफैं भने कुनै पक्षमा खुलेका थिएनन्। बरु सर्वसम्मत गरेर दोस्रो कार्यकालका लागि आफूलाई दोहोर्‍याउनुपर्ने उनको चाहना थियो।
अध्यक्षका लागि नेपाल र ओलीबीच तीव्र प्रतिस्पर्धा भइरहेका बेला खनालसँगको यो सहमतिले निर्वाचन परिणाम आफ्नो पक्षमा जानेमा नेपाल पक्ष ढुक्क भएको छ। ओली पक्षले भने यसबाट ‘मनोवैज्ञानिक असर मात्रै पर्ने’ ठानेको छ। खनालनिकट नेताहरू पहिल्यैदेखि नेपालको अभियानमा लागेको अवस्थामा यो सहमतिले चुनावी नतिजामा कुनै प्रभाव नपर्ने उनीहरूको विश्लेषण छ।
यसैबीच नेपाल र ओली दुवै पक्ष प्यानल निर्माणका लागि अन्तिम गृहकार्यमा जुटेका छन्। दुवै पक्ष महाधिवेशनको बन्दसत्रमा विधान संशोधन पारित भएपछि मात्रै प्यानल घोषणा गर्ने तयारीमा छन्। पदाधिकारी संख्या यकिन नभई प्यानल घोषणा गर्दा समूहभित्रै समस्या पर्ने देखिएपछि विधान संशोधनपछि मात्रै घोषणा गरिन लागेको नागरिक दैनिकमा खबर छ ।
संशोधित विधानमा अध्यक्ष, वरिष्ठ नेता र महासचिव एक–एक, उपाध्यक्ष र सचिव पाँच–पाँच, दुई उपमहासचिवसहित १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ। यसअनुसार केन्द्रीय समिति १ सय ४९ सदस्यीय हुनेछ। पार्टीभित्रैबाट पदाधिकारी संख्या ठूलो भयो भन्दै आठौं महाधिवेशनको व्यवस्थाअनुसारै पदाधिकारी संख्या राख्नुपर्नेमा आवाज उठिरहेको छ।
‘कुम जोडिने अवस्थामा पदाधिकारीको व्यवस्था गर्नु ठिक हुँदैन,’ एक युवानेताले भने, ‘पदाधिकारी धेरै राख्दा धेरैको महŒवाकांक्षालाई थेग्न नसक्ने अवस्था देखिएको छ।’ यसअघि तीन–तीनजना उपाध्यक्ष र सचिव रहने व्यवस्था थियो।
पहिलेको विधानअनुसार भए ओली तर्फबाट उपाध्यक्षमा वामदेव गौतम, विद्या भण्डारी र प्रदीप नेपाल उठ्नेछन्। महासचिवमा ईश्वर पोखरेल र सचिवमा विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीको दाबी रहनेछ। समावेशीबाट धर्मनाथप्रसाद साहलाई उपाध्यक्षमा लाने पक्कापक्की छ।
उपाध्यक्ष पाँचजना भए थप एकमा बाचस्पति देवकोटा, केशव बडाल र मुकुन्द न्यौपानेको दाबी हुनेछ। वामदेवले पनि पाँच उपाध्यक्षको व्यवस्था भए किरण गुरुङलाई लैजान जोड दिने स्रोतले बतायो।
उपमहासचिवको व्यवस्था कायम रहे विष्णु पौडेल र शंकर पोखरेललाई ओली पक्षले उठाउनेछ। सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, केशवलाल श्रेष्ठ, थममाया थापा मगरको दाबी छ।
‘संशोधित विधानअनुसार गए उपाध्यक्ष गौतमले पदाधिकारीमा आफूनिकट केही नेतालाई लैजानुपर्ने अडान लिन सक्नेछन्,’ ओलीनिकट एक नेताले भने।
महासचिवमा ईश्वर पोखरेल नै दोहोरिने निश्चितजस्तै छ। केहीले भने उनी उपाध्यक्षमा उठ्ने चर्चा गरिरहेका छन्। ‘पोखरेल उपाध्यक्षमा जाने सम्भावना छैन। उपाध्यक्षमा पोखरेलको वरीयता गौतम र भण्डारी पछि मात्रै हुन्छ,’ ती नेताले भने, ‘पहिले घोषणा गरेजस्तै महासचिवमै प्रतिस्पर्धा गर्नुहुन्छ।’
ओली समूहले तीन उपाध्यक्ष र तीन सचिव मात्रै हुँदा नेपाललाई समस्या पर्ने ठानेका छन्। नेपालतिर पदाधिकारी आकांक्षी संख्या ठूलो भएकाले व्यवस्थापन गर्न समस्या हुने र त्यसको फाइदा पुग्ने ओली समूहले ठानेको छ।
तीनजना मात्रै हुँदा उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनेछन्। पाँचजना हुँदा लालबाबु पण्डित र घनश्याम भुसाल वा अन्य कोही आउने छन्। ‘भुसाललाई सल्लाह दिनेले वैचारिक अभियानको नेतृत्व गरेकाले उनी पनि उपाध्यक्षमा आउँदा राम्रो सन्देश जाने भनिरहेका छन्,’ भुसालनिकट एक नेताले भने।
त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डे उठ्ने निश्चित छ। उपमहासचिवको व्यवस्था भए रघुजी पन्त र गोकर्ण विष्टलाई प्रतिस्पर्धामा उतार्ने योजना नेपाल पक्षको छ। विष्टनिकट नेताले उनलाई सचिवमा उठ्दा बढी सुरक्षित हुने बताए पनि नेपाल स्वयंले विष्टलाई उपमहासचिवमा उठाउन चाहेका छन्।
तीन सचिवको व्यवस्थामा धेरै आकांक्षी भएकाले नेपाललाई टिम बनाउन समस्या पर्ने देखिएको छ। पाँच सचिव हुँदा योगेश भट्टराई, रामचन्द्र यादव, प्रकाश ज्वाला, पर्शुमेघी गुरुङ, कृष्णगोपाल श्रेष्ठको दाबी हुनेछ। नेपाल तर्फबाट सचिवमा पशुपति चौलागाईं, श्रीमाया थकाली लगायत आकांक्षी छन्।