असार, २२ असार । एमाओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा एमालेको राजधानीमा जारी नवौँ महाधिवशेनमा उक्त दलले लिएको आर्थिक विकास र समृद्धिको मुद्धालाई सकारात्मक भनी टिप्पणी गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल मार्फत आफुनो धारणा सार्वजनिक गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले एमाले अध्यक्ष झलनाथ खनालले प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्दै बेलैमा प्रगतिशील संविधान बनाउने र आर्थिक विकास र समृद्धिमा जोड़ दिने एमालेको सोचाइलाई सकारात्मक भएको धारणा राख्नु भएको हो ।
उहाँले एमालेले अघि सारेको जनताको बहुदलीय जनवादलाई चाँही कार्यदिशा वा कार्यक्रम बन्न सक्ने तर, पथप्रदर्शक सिद्धान्त बन्न नसक्ने उल्लेख गर्नुभएको छ ।
त्यसैगरी एमालेले लिएको नेपाली समाजको विश्लेषणप्रति पनि उहाँले आलोचना गर्नुभएको छ । नेपाली समाजलाई अर्थऔपनिवेशकको सट्टा नवऔपनिवेशिक भन्न हिच्किचाउनु त्रुटीपूर्ण रहेको उहाँको तर्क छ । । ‘अर्ध–औपनिवेशिक सट्टा नवऔपनिवेशिक भनेर किटान गर्न हिच्किचाउनु किन ? उहाँले सामाजिक सञ्जाल मार्फत नै टिप्पणी गर्नु भएको छ ।
वर्तमान साम्राज्यवादी विश्वमा नेपालमा आर्थिक विकास गर्दै गएर शान्तिपूर्ण ढंगले समाजवादमा संक्रमण हुनसक्छ भन्नु पनि एमालेको ठुलो दृष्टिदोष भएको उहाँको ठम्याई छ ।
त्यसैगरी संघीयतासम्बन्धी एमालेको धारणामा पनि उहाँले टिप्पणी गर्नुभएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा एमालेको निर्णायक भूमिका रहेको दावी गर्नु पनि ऐतिहासिक तथ्य विपरीत भएको उहाँको जिकिर छ ।
















प्रतिक्रिया