३१ आश्विन २०८३, शनिबार

युवाबीच नै नेतृत्व र विचारका सन्र्दभमा आरोप–प्रत्यारोप

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UMLकाठमाडौँ, २१ असार । नेकपा (एमाले)को जारी महाधिवेशनमा नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच नेतृत्वबारे गुट उपगुट तीव्र देखिएको छ ।

दुवै पक्षका नेताहरुले दुवै नेता सर्वसम्मत रुपमा पार्टी अध्यक्ष बन्ने दाबी गर्दै आएका छन् । पार्टीको महाधिवेशनलाई व्यक्ति, विचार र नेतृत्व निर्माणमा जोड दिइए पनि त्यो भन्दा बढी नेतृत्वलाई लिएर एकले अर्काको खैरो खन्ने काम बढी भइरहेको छ ।

एमालेमा नेतृत्व हस्तान्तरण र जननेता मदन भण्डारीको बहुदलीय जनवादलाई जनतामा खरोसँग उतार्ने पार्टीभित्र वैचारिक बहस चलिरहँदा युवा पङ्क्तिका नेताहरुमा भने विचार र नेतृत्वमा बेइमेल देखिन्छ ।

एमालेका युवा नेताहरुले पार्टीको नवौँ महाधिवेशनबाट पार्टीलाई आन्तरिक लोकतान्त्रिक सुदृढीकरण गर्दैैै एकताबद्धका साथ पार्टीलाई नयाँ उचाइमा लैजाने विश्वास लिएका छन् ।

रिपोर्टर्स क्लबले शनिवार राजधानीमा आयोजना गरेको साक्षात्कारमा युवा नेताहरुले पार्टीलाई कुनै व्यक्तिको इच्छाअनुसार अंशबन्डाको रुपमा नभई विचार र दृष्टिकोण दिनसक्ने नेतृत्व चाहिने खाँचो औँल्याए । तथापि अधिकांश नेताहरुले पार्टीमा एउटै व्यक्ति लामो समयसम्म रहिरहने विभिन्न लाभका पद लिइसकेको हुनाले नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिए ।

एमालेका युवा नेता खिमलाल भट्टराईले पार्टीको नवौँ महाधिवशेनमा केवल नीति र विचारको मात्र बहस नभई सङ्गठन सुदृढीकरणमा गम्भीरतापूर्वक बहस चलिरहेकाले जसरी नीति र नेतृत्वलाई समयसापेक्ष बनाउने हो, त्यसैगरी नेतृत्व पनि समयसापेक्ष हुनुपर्ने धारणा राख्नुभयो ।

परम्परागत ढङ्गले अब एमाले पार्टी चल्न नसक्ने भन्दै उहाँले जसको नीति उसकै नेतृत्वअनुरुप पार्टीलाई नीति र वैचारिक ढङ्गबाट अघि बढाउन नेता ओलीको महत्वपूर्ण भूमिका रहेकाले उहाँ नै अध्यक्ष हुने दाबी गर्नुभयो ।

नेता विनोद ढकाल र कैलाश ढुङ्गेलले आन्दोलनको नेतृत्व गर्ने पार्टीको वरिष्ठ नेता ओली भएकाले उहाँ नै अबको अध्यक्ष हुने र वरिष्ठ नेता नेपाल अभिभावकको भूमिकामा रहनु नै उचित हुने तर्क गर्नुभयो ।

नेता पर्शुराममेघी गुरुङ महाधिवेशनबाट यो व्यक्ति र त्यो व्यक्तिले जित्नेभन्दा पनि नेतृत्व र विचारलाई स्थापित गर्दै कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइ दिने नीति र वैचारिक हिसाबले नेता नेपालको नेतृत्व सक्षम भएकाले उहाँ नै अबको अध्यक्ष बन्ने ठोकुवा गर्नुभयो ।

त्यसैगरी युवा नेता गोकुल बास्ँकोटा र शेरधन राईले नेतृत्व हस्तान्तरण एमालेमा मात्र नभई अन्य पार्टीका लागि पनि आवश्यक भएकाले नेता नेपाल अभिभावक बनेर विचार र दृष्टिकोण दिनसक्ने नेता र नेतृत्वका लागि नेता ओली नै उपयुक्त हुने बताउनुभयो ।

नेता जीवन घिमिरेले पार्टीलाई भागबन्डा गर्नेभन्दा पनि आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन पनि नवौँ महाविधेशनले पार्टीलाई एकताबद्धका साथ नयाँ उचाइमा लैजाने बताउनुभयो ।

नेता ठाकुर गैरे र नेत्री रामकुमारी झाँक्रीले पार्टीलाई गतिशील, विचारशील र बहुआयामिक नेतृत्व दिने वरिष्ठ नेता माधवकुमार नेपाल नै भएकाले उहाँ सर्वसम्मतरुपमा अध्यक्ष बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अर्की नेत्री जुली महतोले एउटै नेताले धेरैपटक नेतृत्व लिइसकेकाले नेता नेपाल अभिभावक बनेर ओलीलाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो