जाजरकोट, २१ असार । ‘भुँइको टिप्न खोज्दा पोल्टाको पनि झ¥यो’ भन्ने नेपाली उखान जाजरकोटका स्थानीयवासीमा लागू भएको छ । उनीहरुले आकर्षक तलब भत्ता पाउने प्रलोभनमा विनविन कम्पनीलाई रु चार करोड बुझाएको रहस्य खुलेपछि उनीहरुका लागि यस्तो उखान लागू भएको हो ।
जिल्लाका स्थानीय बासिन्दाले मासिक रु एक लाख भारु तलब पाउने आशामा कम्पनीको सदस्य बन्दै रकम बुझाउने गरेका थिए ।
यसरी आकर्षक तलब पाउने आशामा विनविन कम्पनीको सेयर सदस्य बनेर रकम बुझाउनेको सङ्ख्या जाजरकोटमा मात्रै ४ सय नाघेको खलङ्गा–७ का शिवजी वलीले बताउनुभयो । सदस्य बन्नेले जनही रु ४० हजारदेखि रु दुई लाखसम्म बुझाएका उहाँको भनाइ छ ।
रकम बुझाउनेमा बेरोजगार, कर्मचारी, सेना, प्रहरी, व्यापारी र शिक्षक रहेको उहाँले बताउनुभयो । स्थानीयलाई बनारस पु¥याउन खलङ्गा–६ का मोहन विष्ट र सुर्खेतका रामप्रसाद चौधरी सक्रिय रहेको बताइएको छ । स्थानीयवासी हल्लैहल्लामा बनारस पुग्ने र सात दिनको प्रशिक्षण लिएपछि कम्पनीको सदस्य बनेर रकम बुझाउने गरेका हुन् ।
बनारस पु¥याएर ठगी गर्ने एजेन्ट हाल जिल्लाभरि सक्रिय छन् । छोटो समयमा सहज तरिकाले ठूलो रकम कमाउने आश्वासन पाएपछि एकपछि अर्को गर्दै ठूलो सङ्ख्यामा स्थानीय बनारसतर्फ लाग्ने गरेका छन् ।
कतिपयले त नेटवर्क बिजनेसले धोका दिन्छभन्दा पनि विश्वास नगरेको वलीको भनाइ छ । कम्पनीप्रति व्यग्र विश्वास गर्दै त्यसतर्फ जानेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
सो कम्पनीको सदस्य बन्नेमा खलङ्गा, ढिमे, डाँडागाउँ, खगेन कोटलगायतका गाविसका बासिन्दा बढी रहेका छन् ।















प्रतिक्रिया