राजविराज, २० असार । सप्तरीकी एक महिलालाई कथित बोक्सी भन्दै मलमूत्र खुवाई दुव्र्यवहार गरेको आरोपमा सीतापुर–८ का ३५ वर्षीय श्याम अधिकारीलाई प्रहरीले आज पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
आरोपितसहितका व्यक्तिहरुले गत जेठ २० गते कथित बोक्सीको आरोप लगाई ३० वर्षीया प्रमिला अधिकारीको हातखुट्टा बाँधी मलमूत्र खुवाएको आरोपमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । कुटपिटका क्रममा पीडितकी १५ वर्षीया छोरी रम्भा र बुबा ६० वर्षीय सरयुग राउतलाई समेत चोटपटक लागेको छ ।
कुटपिटबाट घाइते भएकी पीडितको स्थानीय क्लिनिकमा उपचार भएको थियो ।
पीडितले गत जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन् । घटना मिलापत्र गर्न जिल्ला प्रहरी कार्यालयमा गत असार १६ गते दुवै पक्षबीच छलफलसमेत भएको थियो ।
छलफल निष्कर्षमा नपुगेपछि पीडितले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता गरेकी हुन् । पीडितले निवेदनमा आरोपितहरुमाथि कारबाहीका साथै जीउधनको सुरक्षाको माग गरेकी छन् ।
पीडितका सासू करियाइदेवीका अनुसार वैशाख महिनामा समेत आरोपितहरुले बोक्सी भन्दै कुटपिट, गालीगलौज गरेका थिए । घटनामा आरोपितहरुले गल्ती स्वीकार्दै आइन्दा कथित बोक्सी भनेर दुव्र्यवहार नगर्ने भनी लिखित सहमतिसमेत गरेका थिए । तर सहमतिको उल्लङ्घन गर्दै आरोपितहरुले पुनः गत जेठ २० गते निर्घात कुटपिट गरेको उनले बताइन् ।















प्रतिक्रिया