काठमाडौं, २० असार । नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि १३ सदस्यीय अध्यक्ष मण्डल र स्टेरिङ कमिटी गठन गरिएको छ ।
बन्दसत्र सञ्चालनका लागि स्थायी कमिटीको बैठकले दुई कमिटी गठन गरेको हो ।
अध्यक्ष मण्डलमा उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, सचिव युवराज ज्ञवाली, नेताहरु भरतमोहन अधिकारी, मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, धर्मनाथ शाह, किरण गुरुङ, भोजराज जोशी, भीम रावल, नागेन्द्र चौधरी, राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यलाई स्थायी कमिटीले प्रस्ताव गरेको छ । सो प्रस्तावलाई बन्दसत्रमा अध्यक्ष झलनाथ खनालले प्रस्तुत गर्ने छन् ।
यस्तै, स्टेरिङ कमिटीमा सचिवहरु विष्णु पौडेल, शङ्कर पोखरेल, नेताहरु प्रदीप ज्ञवाली, रघुवीर महासेठ, विष्णु रिमाल, अग्नि खरेल, विन्दा पाण्डे, केशवलाल श्रेष्ठ, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, रघुजी पन्त, डा. विजय पौडेल र वेदुराम भुसाल रहेका छन् । यसैगरी, सात सदस्यीय माइन्युट लेखन कमिटी पनि गठन गरिएको छ ।
बन्दसत्र अगाडि मनोनीत हुने १ सय ११ प्रतिनिधिबारे स्थायी कमिटीले निर्णय गरिनसकेको महाधिवेशन मूल सचिवालयका सचिव विष्णु रिमालले जानकारी दिए । यसका कारण बन्दसत्र ढिलो प्रारम्भ हुनसक्ने देखिएको छ ।















प्रतिक्रिया