३१ आश्विन २०८३, शनिबार

एमाले महाधिवेशनमा कुन–कुन नेताले कस्तो शुभकामना दिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-9th-Congress-Logo-600x351

काठमाडौँ, १९ असार । नेकपा (एमाले) को नवौंँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा संविधानसभाभित्र र बाहिरका विभिन्न पार्टीका नेताले शुभकामना दिने क्रममा एमाले नेपालको लोकतन्त्रको रक्षा गर्न र समयमा संविधान जारी गर्ने कार्यमा निर्णायक शक्ति बन्न सकोस् भन्ने आग्रह गर्नुभएको छ ।

साथै उहाँहरूले अग्रगामी र वामपन्थी शक्तिबीचको एकतामा पनि जोड दिनुभएको छ । भृकुटीमण्डपमा जारी उद्घाटन कार्यक्रममा एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले वैचारिक मतभेदका बीच कम्युनिस्ट पार्टीबीच अग्रगामी संविधान निर्माण र मुलुकको समृद्धिका लागि एक ठाउँमा उभिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले हरहालतमा एक वर्षमा नयाँ संविधान जारी गराउने र स्वदेशमा रोजगारी सिर्जना गराउने वातावरणका लागि महाधिवेशनले निचोड निकाल्न सकोस् भन्ने आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले परिवर्तनका कार्यसूचीलाई संस्थागत गर्न सबै पक्षबीचको सहकार्यमा जोड दिँदै यस युगान्तकारी दायित्वलाई पूरा गर्न एमालेलाई शुभकामना दिनुभयो । अर्का पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सत्यका लागि लड्ने र परिवर्तनका लागि अझै केही गर्न सक्ने युवा जोस बोकेको पार्टी भएकाले एमालेले त्यस भूमिकालाई निर्वाह गर्न आग्रह गर्नुभयो ।

मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले पहिचान र संघीयतासहितको संविधान अहिलेको आवश्यकता भएकाले यसबाट पछि नहट्न सुझाव दिनुभयो । उहाँले लोकतन्त्रका मामलामा एमाले काँग्रेसभन्दा अगाडि रहेको पनि धारणा राख्नुभयो ।

नेकपा (माले) का महासचिव सिपी मैनालीले तत्काल वाम एकता सम्भव नभए पनि अग्रगामी कार्यसूचीमा मिलेर जान आवश्यक रहेको बताउनुभयो । नेकपा –माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमालेले माओवाद र विचारधारालाई छाड्न नहुने तथा अहिले नै जनवादी क्रान्ति पूरा भएको निष्कर्ष निकल्न नहुने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्रत्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले जनताको बहुदलीय जनवाद नेपालमा मात्र नभई विश्वमै कम्युनिस्ट पार्टीलाई लोकतान्त्रिकीकरण गराउने विचार भएकाले यसलाई समृद्ध बनाउन सुझाव दिनुभयो ।

यस्तै राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलगायतले महाधिवेशन सफलताको कामन गर्नुभयो । उद्घाटन सत्र जारी छ ।