काठमाडौं, १८ असार । केही समय अघिसम्म नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली निकट रहनुभएका एमाले केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले ओलीकै आलोचना गर्नुभएको छ ।
नवौँ राष्ट्रिय महाधिवेशनको सन्र्दभ पारेर बुधवार वरिष्ठ नेता माधवकुमार नेपाल समुहले राजधानीको राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको भेलामा बोल्दै श्रेष्ठले ओलीको आलोचना गर्नुभएको हो ।
उहाँले नेता ओली र उपाध्यक्ष वामदेव गौतमको सहकार्यलाई ‘अपवित्र गठबन्धन’को संज्ञा दिनुभयो । वामदेव गौतमलाई सुरा सुन्दरीसँग जोडेर लेख लेख्ने ईश्वर पोखरेल र वामदेवलाई एक नम्बरको भ्रष्टाचारी घोषणा गर्ने प्रदीप नेपालसँगको ओलीको गठवन्धन अपवित्र हो,’ उहाले भन्नुभयो, ‘म उहाँहरुको सम्मान गर्छु तर, त्यो गठबन्धन अपवित्र छ ।’
उहाँले नेता ओलीलाई स्वास्थ्यका कारणले पनि सर्वोच्च र सम्मानित नेताको स्थानमा राख्नुपर्ने तर्क गर्नुभयो । नेता नेपाललाई अध्यक्ष बनाउनुपर्नेउहाँको तर्क थियो । ‘एमालेको अबको नेतृत्व गतिशील, सक्षम र क्रियाशील हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यो नेतृत्व नेपाल नै हो ।’
उहाँले नेपाल, ओली र झलनाथ खनालविनाको एमाले सम्भव नभएको भन्दै सबैले मिलेर अगाडि बढ्नुको विकल्प नभएको प्रष्ट पार्नुभयो । काठमाडौँ क्षेत्र नंं. २ को उपनिर्वाचनमा हारेपछि श्रेष्ठ अझ ओलीसँग टाढिनु भएको हो ।
















प्रतिक्रिया