काठमाडौँ, १८ असार । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले सूचनाको हकको कार्यान्वयनसँगै यसले जिम्मेवारी पनि बढाउने बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोगद्वारा आयोजित दुई दिने सूचनाको हकसम्बन्धी एडभान्स प्रशिक्षक प्रशिक्षण तालिमको आज उद्घाटन गर्दै उहाँले जनताले जति धेरै सूचनाको हकलाई उपयोग गर्न थाल्छन् त्यति सरोकारवाला निकायहरु सेवा प्रवाहमा जिम्मेवार हुने उल्लेख गर्नुभयो ।
मन्त्री रिजालले भन्नुभयो ‘सूचनाको हकले सरकारको सेवा प्रवाहलाई पारदर्शी बनाउँदै जनताका हक अधिकार संरक्षणका माध्यमबाट देशलाई समृद्ध बनाउन मद्दत पु¥याउँछ ।’
सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी निकाय एवम् अन्य सङ्घ संस्थाका प्रतिनिधि सहभागी यो प्रशिक्षण अत्यन्त उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
नेपाल बार एसोसियसनका सभापति हरिकृष्ण कार्कीले सूचनाको हक नेपालको अन्तरिम संविधानमा नै रहेको उल्लेख गर्दै यसलाई मौलिक अधिकारका रुपमा स्थापित गरिएको बताउनुभयो ।
लोकतन्त्रको संस्थागत विकासमा सूचनाको हक एउटा महत्वपूर्ण पक्ष भएकोमा उहाँको जोड थियो । नेपाल पत्रकार महासङघका सभापति डा महेन्द्र विष्टले नेपाली समाज खुला तथा पारदर्शीं भए पनि सूचना प्रवाह गर्ने कुरा अझै पनि प्रभावकारी बन्न नसकेको बताउनुभयो ।
राष्ट्रिय सूचना आयोगका सचिव श्रीराम पन्तले सूचनाको हक कार्यान्वयनका सन्दर्भमा आयोगले विभिन्न ४० जिल्लामा अनुगमन, १० जिल्लामा अन्तक्र्रिया, विभिन्न अभिमुखीकरण कार्यक्रमहरु सम्पन्न गरिसकेको बताउनुभयो ।
उहाँले सूचना लिने र दिने बानीले सेवा प्रदायक संस्थालाई सुशासन, पारदर्शी, उत्तरदायी र जिम्मेवारी बनाउनेमा जोड दिनुभयो ।
दुई दिनसम्म चल्ने प्रशिक्षणले सेवा प्रदायक संस्थामा सूचनाको हक कार्यान्वयनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।
















प्रतिक्रिया