काठमाडौँ, १७ असार । नेतृत्वका सन्र्दभमा लामो समयदेखि मौन रहँदै आउनु भएका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले नवौँ महाधिवेशन उद्घाटनको दुइदिन अघि मात्र पुनः आफु नेतृत्व लिन तयार रहेको संकेत गर्दै मुख खोल्नुभएको छ ।
एमाले केन्द्रीय स्थानीय विकास तथा भौतिक संरचना विभागद्वारा तयार गरिएको स्थानीय सरकारको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँटसम्बन्धी प्रस्तावको लोकार्पण समारोहमा मंगलवार उहाँले पुनः नेतृत्व लिन तयार रहेको संकेत गर्दै मुख खोल्नु भएको हो । ‘सहमति भएमा आगामी पाँच वर्षका लागि फेरि नेतृत्व लिन म तयार छु,’ उहाँले भन्नुभयो,’ ‘नवौँ महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध तथा थप सशक्त पार्नेमा म ढुक्क छु ।’
उहाँले सोमवार मात्रै पार्टी मुख्यालय बल्खुमा पनि नवौं राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन प्रचार प्रसार उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा रेफ्रीले सिठी बजाउन नपाउँदै खेलाडी मैदानमा दौडेकाले समस्या भएको भन्दै नवौ महाधिवेशनमा अध्यक्षका लागि प्यानल नै बनाएर मैदानमा उत्रियका बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी ओलीप्रति आक्रोश पोख्नु भएको थियो ।
यसरी प्यानललै बनाएर मैदानमा दुइ जना नेता उत्रिएको बेला खनालले महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आफूलाई सर्वसम्मत् अध्यक्ष बनाउन गरेको आग्रहलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।















प्रतिक्रिया