काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई गाली नगर्न आफ्ना समर्थकलाई निर्देशन दिनुभएको छ ।
राजधानीमा शनिबार एमाले पोलिटव्यूरो सदस्य तथा स्वास्थ्यमन्त्री खगराज अधिकारीद्धारा लिखित आत्मसंस्मरण ‘माया मारेको मान्छे’ बिमोचन गर्दै नेता ओलीले अर्को पक्षलाई गाली नगर्न आफ्ना समर्थकलाई निर्देशन दिनुभएको हो ।
नेता ओलीले आफू पनि अर्को पक्षलाई गालीगलौजमा नउत्रिने बताउनुभयो । गाली नगर्ने बताएपनि अध्यक्षका प्रत्यासी वरिष्ठ नेता नेपाललाई संकेत गर्दै ओलीले भन्नुभयो, ‘अनेक प्रकारका तिकडम गर्ने राता आँखे जनवादको पक्षमा म छैन । नेतृत्व गर्नेले संयोजनकारी भूमिका खेल्ने हो, शासक बन्ने होइन, आफूलाई मन नपर्नेहरुलाई राता आँखा लगाउने प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो ।’
माधव नेपाल पक्षले नेतृत्व पुस्तान्तरको नाममा त्रिशुली नदीलाई गोसाइकुण्डतिर फर्काउने प्रयास गरिरहेको नेता ओलीको टिप्पणी थियो । युवा पुस्ताका नाममा माधव नेपालले दाँत फुक्लिसकेका र हजुरबा भइसकेकाहरुलाई अघि सारेको ओलीको अरोप छ ।
नेता ओलीले एमालेको नेतृत्व राष्ट्र बैंकले छापेको नोटजस्तो सबैले मान्यता दिने हुनुपर्ने पनि बताउनुभयो । ‘पार्टीको नेता भनेको राष्ट्र बैंकको नेता जस्तो हो, जो सवैबाट मान्यताप्राप्त हुन्छ’ ओलीले भन्नुभयो–‘एमालेको नेता बन्न पार्टीका नीति, विचार र कार्यक्रम तथा परिवर्तनको जमानी वस्ने सक्ने हुनुपर्छ ।’ उहाँले नवौं महाधिवेशन हारजितको कुरा नभएको भन्दै पार्टी भित्रको सच्चाइ र अग्रगामी सोच निर्माण गर्ने कुरा रहेको भनाइ राख्नुभएको थियो ।
नेता ओलीले नेपाली साहित्य, साधना र त्यागले भरिपूर्ण मुलुक भएको भन्दै स्वास्थ्यमन्त्रीको समेत कार्यभारमा रहेर पनि साहित्यिक कृति ल्याएकोमा अधिकारीको प्रशंसा गर्नुभयो ।
पुस्तकबारे समीक्षा गर्दै एमालेका पोलिटब्युरो सदस्य प्रदिप ज्ञवालीले आफ्नो व्यक्तिगत जीवनमा साथै राजनीतिक उतारचढाव र एमालेका आन्तरिक जीवनबारे पुस्तकले यथार्थ विवरण पस्केको बताउनुभयो । त्यस्तै, राजनीतिक विश्लेषक मुमाराम खनालले लेखक अधिकारीले पुस्तक इतिहासमा खेलेको भुमिकाको महत्वपूर्ण दस्तावेज भएको भन्दै यसले बामपन्थी आन्दोलनलाई सहयोग गर्ने विश्वास गर्नुभयो ।
लेखक अधिकारीले आफूले जीवनमा पाए भोगेका सत्य घटनाबारे पुस्तकमा उतारेको बताउनुभयो ।
















प्रतिक्रिया