कावासोती, ४ असार । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले महाधिवेशनमा दस्तावेज एउटै भए पनि नेतृत्वमा विचार र प्रवृत्तिको लडाइँ भएको बताउनुभएको छ ।
नवलपरासीको कावासोतीमा आफ्ना पक्षका कार्यकर्ताको भेलामा आज नेता नेपालले भन्नुभयो– “विचार गौँड रहँदा दुई नेताको व्यक्तित्वको टकराव छ त्यो दुईबीचको प्रवृत्तिविरुद्धको टक्कर हो ।”
अर्का नेता केपी ओलीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो– “व्यक्तिगत स्वार्थका लागि पार्टी कब्जा गर्ने विधि अपनाउने लोकतान्त्रिकरणको नाममा पार्टीको क्रान्तिकारी धार समाप्त पार्ने यस्तो विचार र प्रवृत्तिले जनताको निम्ति काम गर्दैन केवल गुटका लागि मात्र हो ।” धम्कीको प्रयोग, पदको प्रलोभन दिने काम बन्द गर्नुपर्छ । यस्तो खालको प्रवृत्तिले पार्टीको नेतृत्व गर्दा महल झै ठडिएको एमाले तासको घरमा परिणत हुने भएकाले कार्यकर्ताले गतिशील र ऊर्जावान नेतृत्व छान्नुपर्ने नेता नेपालले धारणा राख्नु भयो ।
उहाँले भन्नुभयो– “नेतृत्वमा विचारमा स्पष्टता, कार्यकर्ताको संरक्षण गर्ने, गतिशील बन्ने, कम्युनिस्ट आन्दोलनको मूल प्रवाह बन्ने बेला आएको छ त्यस्तो नेतृत्व दिन तयार छु ।” नवौँ महाधिवेशनमा हिँड्दा ओली पक्षले आफ्ना कार्यक्रममा कार्यकर्ता आउन रोक लगाएकोमा उहाँले रोष प्रकट गर्नुभयो ।
नेतृत्व हस्तान्तरण भनेको आलोपालो हुन नसक्ने बताउँदै उहाँले भन्नुभयो– “प्रतिस्पर्धा गर्ने नीति अवलम्बन गरेपछि खुट्टा कमाएर हुँदैन मैदानका लागि तयार हुनुपर्छ ।”
भेलामा अनेरास्ववियुकी पूर्व अध्यक्ष रामकुमार झाँक्रीले सामाजिक आर्थिक परिवर्तनका मुद्दालाई लिएर हिँड्न नसक्ने नेतृत्वले एमाले चलाउन नसक्ने बताउनुभयो ।
















प्रतिक्रिया