२९ आश्विन २०८३, बिहिबार

माधवलाई केपीको प्रश्न- किड्निी ठीक हुनेले के गरे ? (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-vela1

काठमाडौँ, २६ जेठ । नेकपा (एमाले) का नेता बरिष्ठ नेता तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणको नीतिगत प्रश्नलाई पदप्रतिको आशक्ति भनेर लाञ्छना लगाउन खोज्ने दोहोरो मापदण्ड बिडम्बनापूर्ण भएको बताउनुभएको छ ।

एमालेको नवौं महाधिवेशनका सन्दर्भमा आज भृकुटीमण्डपमा आयोजित बृहद् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ओलीले भन्नुभयो , ‘घुमाई–घुमाई नेतृत्व आफैले लिन प्रयाश गर्ने ?आफूबाहेक अरुले पार्टीको नेतृत्व गर्नै नसक्ने मनोदशा बोकेर राष्ट्रले नयाँ नेतृत्व पाउन सक्दैन । किड्निीको बिरामी हुँदा उग्रवामपन्थसँग लड्ने मै हो, किड्निी ठीक हुनेले के गरे ? ’

kp-oli-vela4

उपचारपछि स्वस्थ्य भएपछिको बाँकी जीवन पनि मुलुक र पार्टीका लागि समर्पित बताउँदै उहाँले पार्टीलाई नयाँ गति दिनका लागि नेतृत्व हस्तान्तरण हुनु वैज्ञानिक र तर्कसङ्गत हुने भन्दै आफू कार्यकर्ताले दिने जिम्मेवारीलाई इमानदारपूर्वक पूरा गर्न तयार रहेको उद्घोष गर्नुभयो ।

ओलीले आफू पञ्चायत र निरकुंश राजतन्त्रको विरोधमा लामो समय जेल बसेको, जीवन नै सङ्घर्षमा बितेकाले बाँकी जीवन पनि सङ्घर्ष र रुपान्तरणमा अर्पण गर्ने इच्छा रहेको जनाउनुभयो ।

उहाँले अहिले पार्टीका सङ्गठन गतिशील नभएको, भएका कतिपय मोर्चामा बैठक समेत हुन नसकेको, सबै कार्यकर्ताले काम नपाएर निराशा छाएको बताउनुभयो । नेता ओलीले भन्नुभयो, ‘एमालेलाई अब जुझारु र जनताका आधारित सशक्त सङ्गठन बनाउन जरुरी छ ।

kp-oli-vela2

औचित्य र विवेकका आधारमा एकता र सहमतिसहितको नेतृत्व चयन गर्नुपर्छ ।’ ओलीले पार्टी महाधिवेशन केबल नीति या नेतृत्वको जीतहारको मञ्च नभई, आफैमा एउटा विशाल प्रशिक्षण कार्यक्रम भएकाले पार्टीमा नयाँ संस्कारको विकास गर्ने महत्वपूर्ण अवसरका रुपमा यसलाई प्रयोग गर्न आग्रह गर्नुभयो ।

‘महाधिवेशनको पूर्वसन्ध्यामा केही साथीहरूबाट महाधिवेशनको समग्र प्रक्रियालाई नै अस्वस्थ रूप दिन भइरहेको प्रयाशबाट म चिन्तित छु ।’ ओलीले भन्नुभयो, ‘एकातिर नीतिगत मतभिन्नता छैन भन्ने र अर्कोतिर ‘डनवाद’ र ‘धनवाद’ का विरुद्धको सङ्घर्षका नाममा पार्टीलाई यो कित्ता र त्यो कित्तामा विभाजित गर्ने गतिविधिबाट म दुखी छु ।

kp-oli-vela3

जबजसँग पटक्कै मेल नखाने यस्ता कतिपय प्रवृत्तिहरूले पार्टी जीवनलाई हित गर्दैन ।’ मुलुकलाई राजनीतिक स्थायित्व र दिगो शान्तिको दिशातिर अगाडि बढाउने दायित्व पुरा गर्न कृषिको व्यवसायीकरण, जलस्रोतको अधिकतम सदुपयोग, पर्यटनको विकास र औद्योगीकरणका माध्यमबाट गरिबी, अभाव र बेरोजगारीलाई हटाउँदै श्रम शक्तिको विकास गर्न एकतावद्ध, सबल, गतिशील र वैचारिक रूपले स्पष्ट नेतृत्व आवश्यक भएको ओलीको भनाई छ ।

उहाँले जनताको बहुदलीय जनवादलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनमुखी लोकतन्त्रको निर्माणसम्ममा प्रयोग गर्र्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा एमालेका उपाध्यक्ष वामदेव गौतमले अब वरिष्ठ नेता माधवकुमार नेपालले सकेसम्म अध्यक्षमा उम्मेदवारी दिन नहुने र दिएमा उहाँलाई पराजित गरेर फेरी पार्टीमा हावी हुन दिन नहुने बताउनुभयो ।

यस्तै उपाध्यक्ष विद्यादेवी भण्डारीले नेतृत्व हस्तान्तरणले नै एमालेलाई नयाँ जीवन दिन सक्ने बताउनुभयो । महासचिव ईश्वर पोखरेलले सक्षम र गतिशील नेतृत्वका लागि ओलीलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

यस्तै सचिवहरू शङ्कर पोखरेल, विष्णु पौडेलले पनि नेतृत्व हस्तान्तरणमा जोड दिनुभएको थियो । केही समय अघि बरिष्ठ नेता माधव नेपालको उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी एमालेका सल्लाहकार परिषद्का संयोजक सिद्धिलाल सिंह पनि आजको भेलामा उपस्थित हुनुहुन्थ्यो । उहाँले नेताहरूबीच सहमतिका साथ नेतृत्व चयन हुन सके राम्रो हुने बताउनुभयो ।