दमक, २५ जेठ । विगत पाँच महिनामा माइती नेपालले अवैध रुपले पूर्वी सीमा क्षेत्रबाट भारतलगायतका मुलुकमा जान खोज्ने ८१ जना महिलालाई उद्धार गरेको छ ।
उद्धार गरिएकाहरूलाई सम्बन्धित परिवारको जिम्मा लगाइएको जनाइएको छ । संस्थाले सोही अवधिमा दुई घरेलु हिंसाका घटना र ४९ जना बेपत्तासम्बन्धी उजुरीबारे पनि आवश्यक पहल गरिरहेको छ । माइती नेपाल कांकडभिट्टाका अनुसार बेपत्तामध्ये १० जना फेला परेका छन् भने कतिपय बेपत्ताको विवरण सत्य नहुँदा समस्या आएको जनाइएको छ ।
माइती नेपाल दमकका प्रमुख गोविन्द घिमिरेले अहिले सीमाबाट हुने यस्ता आपराधिक गतिविधिमा धेरै कमी आएको दाबी गर्नुभयो ।
विवरणअनुसार कांकडभिट्टा नाकाबाट भारत हुँदै विभिन्न देशमा अवैध किसिमले जान खोज्ने महिला तथा सरोकारवाला गरी चार हजार १६१ जनालाई वैदेशिक रोजगारीको नाममा हुने महिला हिंसाबारे परामर्श दिएको जनाइएको छ । सन् २०१३ को तथ्याङ्कअनुसार २९५ जनालाई उद्धार गरिएको थियो ।
त्यसैगरी १७ घरेलु हिंसा, १२१ बेपत्ता, २२ फेला परेको र चारवटा जबर्जस्ती करणीको मुद्दा परेको बारे माइती नेपालले सहयोग गरेको छ । सो वर्षमा जम्मा २५ हजार २९३ जनालाई महिला तथा मानव बेचबिखनसम्बन्धी परामर्श दिइएको थियो ।
कांकडभिट्टा नाका भई अवैध रूपमा विदेश जान खोज्नेहरूमा मकवानपुर, सिन्धुपाल्चोकदेखि पूर्व ताप्लेजुङ, इलामसम्मका पहाडी भेगका १५ देखि ४० वर्ष उमेरका महिला छन् । जसमा तामाङ, मगर, राई, लिम्बू समुदायका महिला बढी रहेको प्रमुख घिमिरे बताउनुहुन्छ ।
कांकडभिट्टास्थित माइती नेपालको कार्यालयले तीनजना अनाथलाई अध्ययन गराइरहेको छ । एक छात्र कक्षा १२ मा अध्ययन गर्दैछन् भने दुई छात्रा कक्षा १० र ४ मा अध्ययनरत छन् ।
इलाका प्रहरी कार्यालयले विभिन्न स्थानबाट फेला पारेको उनीहरूलाई अभिभावकले दाबी गर्न नआएपछि आफूले जिम्मा लिएर पालेको उहाँले बताउनुभयो ।














प्रतिक्रिया