२९ आश्विन २०८३, बिहिबार

फोहरबाट मोहर कमाउँदै धनकुटा नगरपालिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhankuta-Bazar

धनकुटा, २५ जेठ । फोहरमैला व्यवस्थापन सहरी क्षेत्रका लागि चुनौती बन्दै गइरहेको बेला धनकुटा नगरपालिकाले भने फोहर बेचेरै मोहर कमाइरहेको छ ।

‘मिसाए फोहोर, छुट्याए मोहर’ भन्ने नारालाई चरितार्थ गर्दै धनकुटाबजार क्षेत्रबाट सङ्कलन भएको फोहरबाट तीन वर्षयता धनकुटा नगरपालिकाले राम्रो आम्दानी गर्दै आएको हो । यसका लागि नगरपालिकाले गल्ने फोहरलाई ‘एरोबिक कम्पोस्टिङ’ गर्दै आएको छ । जसमा नगरपालिकाले कागज, प्लास्टिक र धातुजन्य वस्तु छानेर बेग्लाबेग्लै सङ्कलन गर्ने गर्छ । यसरी सङ्कलन गरिएको फोहरलाई दुईदेखि १२ रुपैयाँसम्म बिक्री गरिँदै आएको धनकुटा नगरपालिका वातावरण शाखाप्रमुख उपेन्द्र खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो–“त्यसै फालिने फोहरले मोहर पाउन थालेपछि हामी पनि उत्साहित छौँ ।” फोहरमैला व्यवस्थापनकै कारण धनकुटा नगरपालिका वातावरणीय प्रभाव मूल्याङ्कनमा मुलुकका उत्कृष्ट १० नगरपालिकाभित्र पर्नसमेत सफल भएको छ ।

धनकुटा नगर क्षेत्रबाट दैनिक १० टनभन्दा बढी फोहोर सङ्कलन हुने नगरपालिका कार्यालयले जनाएको छ । यसरी सङ्कलित वस्तुबाट छुट्याइएको फोहर बिक्री गरेर नगरपालिकाले वार्षिक एक लाख ६० हजार आम्दानी गर्न सफल भएको छ । पुनः प्रशोधन गर्न सकिने फोहरलाई बिक्री गर्दा आम्दानीसँगै ‘ल्यान्डफिल्ड’ भरिने समस्याबाट समेत नगरपालिका मुक्त भएको छ । अर्कातिर नगरवासीसमेत फोहरबाट उत्पन्न हुने समस्याबाट मुक्त भएका छन् ।

“बिक्री गर्न मिल्ने वस्तुलाई बिक्री गर्ने गर्छौँ”– नगरपालिकाका वातावरण शाखाका प्रमुख खनालले भन्नुभयो–“बिक्री गर्न नमिल्नेलाई माटोले पुर्ने गरेका छौँ ।” यसरी पुनः प्रयोग गर्न सकिने फोहरलाई सङ्कलन गरेपछि धनकुटा नगर क्षेत्रको वातावरण प्रदूषणसमेत कम हुने गरेको पाइएको छ ।
बजारबाट निस्कने फोहरमैला व्यवस्थित गरी स्वच्छ र हराभरा नगरको परिकल्पना गर्दै धनकुटा नगरपालिका र स्थानीय विकास मन्त्रालय जगेडा कोषको साझेदारीमा करिब चार करोड रुपैयाँको लागतमा धनकुटामा ‘ल्यान्डफिल्ड’ निर्माण गरिएको छ । ३० रोपनी क्षेत्रमा निर्माण गरिएको यो ‘ल्यान्डफिल्ड’ले धनकुटा नगरपालिका क्षेत्रबाट सङ्कलन भएको फोहरलाई २५ वर्षसम्म धान्न सक्ने दाबी नगरपालिकाले गरेको छ ।

मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने मिथेन ग्यास उत्सर्जनरहित यो ‘ल्यान्डफिल्ड’ बाट स्वच्छ, सफा र हरित सहर निर्माणमा सहयोग पुगेको धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत कुमार कोइरालाले बताउनुभयो ।

यो ‘ल्यान्डफिल्ड’ बन्नुभन्दा अगाडि धनकुटा नगरपालिका क्षेत्रमा जताततै फोहर थुपार्ने चलन थियो । घुमाउने चौतारा क्षेत्र र बजारकै गोकुण्डे खोलामा जथाभावी थुपारिने फोहरले बजार क्षेत्रमा समस्या आएपछि धनकुटाको सल्लेरी वन क्षेत्रभित्र आधुनिक ‘ल्यान्डफिल्ड’ निर्माण भएको हो । यो ‘ल्यान्डफिल्ड’मा यस वर्षदेखि बजारका घरहरुको सेफ्टी ट्याङ्कीबाट निकालिएको फोहारबाट अर्गानिक मल बनाउने योजना बनाइएको छ ।