सिरहा, २५ जेठ । पूर्व-पश्चिम लोकमार्गअन्तर्गत सिरहा रामनगर मिर्चैयाको घुर्मी चोकमा प्रहरी र सडकजाम गर्न खोज्ने स्थानीयबीच झडप भएको छ। झडपमा एक दर्जनभन्दा बढी प्रहरी र बन्दकर्ता घाइते भएका छन्।
महेशपुर गमहरीया ४ की डिम्पल कुमारी सिंहलाई इटारी प्रशाहीका मोहीत मण्डलले भगाएर लगेको भन्दै माइती पक्षले शनिबार बिहानैबाट सडक अवरुद्ध गरेको थियो। माइती पक्षले छोरी अपहरण हुँदा पनि प्रहरी मौन रहेको आरेप लगाउँदै हिंसात्मक शैलीमा सडक जाम गर्न खोजेपछि स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको आजको अन्नपूर्णमा खबर छ।
प्रहरीले झडप नियन्त्रणको लागि १० राउन्ड आँशुग्यास र सात राउण्ड हवाई फायर गरेको स्थानीयले जानाएको छ। झडपमा परी पाँच जना प्रहरी र सात जनाभन्दा बढी बन्दकर्ता घाइते भएको छ। उनीहरू स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि घर फर्किएको जनाएको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले दिएको जानकारीअनुसार महेशपुर गमहरीया ४ की डिम्पल कुमारी सिंह र इटारी प्रशाहीका मोहीत मण्डल राजीखुसीले घर छोडेर भागेको देखिन्छ। वैशाख २९ भागेका उनहरूलाई केटीपक्षकाले अपहरण गरेको भन्दै केटाका आफन्तलाई छिटो छोरी खोजेर ल्याउन भन्दै दबाब दिंदै आएको छ।
यसबीचमा केटी पक्षकाले केटाका आफन्तलाई कुटपीट गर्ने, घरमा तोडफोड गर्ने गरेको प्रहरीले जानकारी दिएको छ। पाँच दिनअघि केटा र केटी पक्षबीच झडप भएपछि इलाका प्रहरी कार्यालय मिर्चैयामा तीन दिनभित्र केटापक्षकाले केटी झिकाएर उनका आफन्तसँग भेट गराइदिने सहमति भएको थियो।
सहमति पुरा नभएपछि केटीका आफन्तले शनिबार बिहानै सडक जाम गरेको थियो। जाम खुलाउन प्रहरीले बल प्रयोग गरी अपरान्ह १२ बजे सडक खुलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख पूर्णचन्द्र जोशीले बताए। डिम्पल कुमारीको परिवारले अफनो छोरीलाई अपहरण गरेको लगेको भन्दै मिर्चैया प्रहरी चौकीमा उजुरी दिएका थिए। प्रहरीले अहिलेसम्म आफनो छोरीलाई उपस्थित गराउन नसकेको भन्दै सडक बन्द गरेपछि झडप भएको हो।
डिम्पल मिर्चैयाकै एक कलेजमा स्नातक पढ्दै गरेकी थिइन् भने मण्डल मिर्चैयाकै एक बोर्डिङ्ग स्कू लमा शिक्षकको रूपमा कार्यरत थिए। उनीहरू २९ गते वैशाख बाटै आफ्नो सम्पर्कमा नरहेको केटाका आफन्तले बताए।














प्रतिक्रिया