शुक्रबार, २९ कार्तिक २०७६
DainikNepal.com
शुक्रबार, २९ कार्तिक २०७६

डान्स इन्डियामा तहल्का मच्चाएकी तेरियालाई देवीलाई झैं सम्मान

दैनिक नेपाल २०७१ जेठ २४ गते ८:३०

Teriya-Magar-DID-Lil-Masters-1

रूपन्देही, २२ जेठ । बाह्र वर्षीया तेरिया फैजामगरलाई भव्य सम्मान गरिएको छ। तेरियाले भविष्यमा कुशल नृत्यकार वा नायिका बन्ने लक्ष्य भएको बताएकी छन्।

भारतको प्रसिद्ध सिरियल च्यानल जीटीभीद्वारा आयोजित डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्स उपाधि निकट पुगेकी उनलाई बिहीबार र शुक्रबार गृहक्षेत्र रूपन्देहीमा भव्य सम्मान गरिएको अन्नपूर्ण पोष्टमा खबर छ ।

चार लाख भारतीय प्रतिस्पर्धीलाई पछारेर प्रतियोगिताको फाइनलमा पुगेकी एकमात्र नेपाली प्रतियोगी तेरियाप्रति गौरव गर्दै उनको प्रतिभाको सम्मान गर्न मानिस सडक, चोक र सभामा उत्रिए। उनले यो उपाधि जितेमा नृत्य क्षेत्रमा सवा अर्ब जनसंख्या भएको र विश्वमा सनातन सभ्यता र संस्कृतिको केन्द्र मानिएको भारतमा नेपालकी छोरीले नृत्यतर्फ राष्ट्रिय रेकर्ड कायम गरी नेपालको गौरव बढाउनेछिन्।

केही वर्षअघि भारतीय अर्को प्रसिद्ध च्यानल सोनी टीभीद्वारा आयोजित गायन प्रतियोगिता इन्डियन आइडलमा प्रशान्त तामाङले रेकर्ड कायम गरिसकेका छन्। तामाङ नेपाली मूलका भारतीय नागरिक हुन् भने तेरिया नेपाली नागरिक हुन्। तामाङलाई विजयी बनाउन संसारभरि छरिएका नेपालीले आआफ्ना ठाउँबाट भोटिङका लागि व्यापक प्रचारप्रसार गरी योगदान गरेका थिए। तेरियाका लागि पनि यस्तै अभियानको खाँचो देखिएको छ। यद्यपि तेरियालाई प्रोत्साहन र भोटिङका लागि योगदान गर्न नेपाल सरकारको सम्बन्धित मन्त्रालय चुकेको भन्दै उनका शुभेच्छुकले आक्रोश प्रकट गरेका छन्।

फाइनल चरणमा पुगेका पाँचजना प्रतियोगीलाई उनीहरूको गृहक्षेत्रमा प्रभावको स्तर मापन गर्ने र स्थानीयलाई उनीहरूको आत्मबल बढाउन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्न मौका दिने उद्देश्यले आयोजकले उनीहरूलाई आआफ्नो गृहक्षेत्रमा तीनजना क्यामेराम्यानसहित सबै गतिविधि छायांकनसमेत गर्ने गरी पठाएको हो।

तेरिया बिहीबार भारतबाट काठमाडौं हुँदै दिउँसो २ बजे भैरहवाको गौतम बुद्ध विमानस्थलमा ओर्लंदा उनलाई स्वागत र सम्मान गर्न दुई हजारभन्दा बढी संख्यामा शुभेच्छुक भेला भएका थिए। त्यसपछि उनलाई बाजागाजासहित भैरहवादेखि बुटवलनगर हुँदै रुद्रपुर गाविसको हरैयास्थित उनको घरसम्म परिक्रमा गराएको थियो। उनलाई सम्मान गर्न हरैयामा छिमेकी गाविसबाट समेत मानिस ओइरिएका थिए। सडकमा रातो कार्पेट बिछ्याइएको थियो। हरैयालाई सिँगारेर रंगीचंगी बनाइएको थियो। फूलमालाको वर्षा गराइएको थियो। सहरका विभिन्न ठाउँमा उनको प्रचारमूलक ठूला सूचना पाटी झुन्ड्याइएका छन्।

शुक्रबार बिहानैदेखि उनी व्यस्त छिन्। बिहान बुटवलको सिद्धबाबा मन्दिरमा पूजा गरिन्। त्यसपछि बागेश्वरी संगीतालय, मगर संघलगायत धेरै संस्थाको सम्मानमा सरिक भइन्। ट्राफिक चोकमा नृत्यसमेत प्रस्तुत गरिन्। बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरी साँझ कपिलवस्तुको जितपुरमा सम्मान ग्रहण गरी शनिबार भारततर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया
सम्बन्धित