२९ आश्विन २०८३, बिहिबार

बाँदरमुढे घटनाको नौ वर्ष पूरा, दोषीलाई कारबाही कहिले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

badarmude2

रत्ननगर (चितवन), २३ जेठ । तत्कालीन नेकपा माओवादीले यात्रुवाहक बसमा बम विस्फोट गराएको माडी बाँदरमुढे घटना भएको आज नौ वर्ष पूरा भएको छ ।

घटना भएको दशक पुग्न लाग्दा पनि घटनाका पीडितहरूले भने उचित राहत पाउन सकेका छैन । घटना पीडित समितिका उपाध्यक्ष लेखनाथ अधिकारीले अझै पनि घाइतेहरूको नियमित उपचार गर्नुपर्ने अवस्था रहेको र धेरैले उचित राहत पाउन नसकेको बताउनुभयो ।

उहाँले पीडितहरू झन् पीडित बन्दै गएको भन्दै सहयोग गर्न सरकारसँग आग्रह गर्नुभएको छ । माओवादीले घटनामा गल्ती भएको स्वीकार गरेको भए पनि राहत ल्याउन भने सकेको छैन । द्वन्द्वको समयमा तत्कालीन नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परी विसं २०६२ जेठ २३ गते आजकै दिन ३८ सर्वसाधारणले ज्यान गुमाएका थिए ।

अन्य ७५ जना घाइते भएका थिए । करिब १५० यात्रु बोकेर माडीको बगईबाट नारायणगढ आउँदै गरेको ना१ख ३२४५ नम्बरको यात्रुबस विस्फोटमा परेको थियो । समितिका अध्यक्ष मुक्ति न्यौपाने न्याय त परै जाओस् पीडितले राहतसमेत पाउन नसकेको भन्दै दुखेसो गर्नुभयो  ।

badarmude

आफ्ना अभिभावक गुमाएका बालबालिकाको अवस्था दिन प्रतिदिन जटिल बन्दै गएको र घाइतेहरूको पीडासमेत बल्झिँदै गएको अध्यक्ष न्यौपानेको भनाइ छ । आजको दिनलाई कालो दिनका रूपमा सम्झिएको घटनाका पीडितहरूको भनाइ छ ।

पीडित र नेपाली सेनाको सहयोगमा यहाँ उनीहरूको सम्झनामा स्मारक बनाइएको छ । आज सोही घटनाको सम्झनामा घटना पीडितहरूले विशेष कार्यक्रमको आयोजना गरिँदैछ । घटनामा परी ज्यान गुमाएकाको सम्झनामा कार्यक्रम गर्न लागिएको समितिले जनाएको छ ।