२८ आश्विन २०८३, बुधबार

मर्जरपछि बने नयाँ २२ नयाँ बैंक तथा वित्तीय संस्था

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRB-Nepal-Rastra-Bank

काठमाडौँ, २२ जेठ । नेपाल राष्ट्र बैंकको आह्वानअनुसार विभिन्न वर्गका ५५ बैंक तथा वित्तीय संस्था एकापसमा गाभिएर (मर्ज भएर) २२ वटा नयाँ बैंक तथा वित्तीय संस्था बनेका छन् ।

बैंक तथा वित्तीय संस्थाप्रति सर्वसाधारणको विश्वसनियता बढाउँदै समग्र बैंङ्किङ क्षेत्रलाई सक्षम बनाउने उद्देश्यले मर्जर (बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने) मा जान निर्देशन गरिएको थियो ।

राष्ट्र बैंकका प्रवक्ता भास्करमणि ज्ञवालीले राष्ट्र बैंकको आह्वानअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था गाभिएर नयाँ तरिकाले वित्तीय कारोबार सञ्चालन गरेको जानकारी दिनुभयो । विभिन्न १४ वटा संस्था गाभिएर पाँच वटा नयाँ संस्था बन्ने प्रक्रिया जारी रहेको जनाइएको छ । प्रक्रिया सकिएर अन्तिम स्वीकृति पाउनेमध्ये ‘ख’ वर्गका १४ वटा नयाँ विकास बैंक रहेको राष्ट्र बैंकले जनाएको छ ।

एच एन्ड डेभलपमेन्ट बैंक, काष्ठमण्डप डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रचर डेभलपमेन्ट बैंक, विजनेस युनिभर्सल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, विभोर विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, प्रोफेसनल दियालो विकास बैंक, अरनिको डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, प्रभु विकास बैंक, यति डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक र विराट लक्ष्मी विकास बैंक मर्जरको प्रक्रियाबाट नयाँ बनेका ‘ख’ वर्गका विकास बैंक हुन् ।

त्यसैगरी बैंक तथा वित्तीय संस्था गाभिएर चार वटा नयाँ ‘क’ वर्गका बैंक बनेका छन् । माछापुच्छे बैंक र स्टेन्डर्ड फाइनान्स आपसमा गाभिएर माछापुच्छे« बैंक नयाँ रूपमा आएको छ ।

ग्लोबल बैंकसँग ‘ग’ वर्गका आइएसई फाइनान्सियल इन्स्टिच्युसन र लर्डबुद्ध फाइनान्स, ‘ख’ वर्गको सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंक र ‘क’ वर्गको कमर्ज एन्ड ट्रष्ट बैंक नेपाल पाँच संस्था गाभिएर ‘क’ वर्गको नयाँ ग्लोबल आइएमई बैंक बनेको छ । ‘क’ वर्गको सिभिल बैंकसँग ‘ख’ वर्गको एक्सिस डेभलपमेन्ट बैंक र ‘ग’ वर्गको सिभिल मर्चेन्ट वित्तीय संस्था गाभिएको छ ।

‘क’ वर्गको बैंक अफ एसिया र ‘क’ वर्गकै नेपाल इन्डष्ट्रियल एन्ड कमर्सियल बैंक आपसमा गाभिएर नयाँ एनआइसी एसिया बैंक बनेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी नौ वटा ‘ग’ वर्गका फाइनान्स कम्पनी एकापसमा गाभिएर चार वटा नयाँ वित्तीय संस्था बनेको उल्लेख गरिएको छ ।

नेपाल राष्ट्र बैंकले विसं २०६८ देखि मर्जरमा जान सबै बैंक तथा वित्तीय संस्था एकापसमा गाभिन आह्वान गरेको थियो । दुई वा दुईभन्दा बढी इजाजतपत्र प्राप्त संस्था एकापसमा गाभिएर नयाँ संस्था बन्ने गर्छ । पुरानो संस्थाको अस्तित्व समाप्त हुन्छ ।