काठमाडौं, २२ जेठ । एमालेमा ७० वर्ष उमेर नाघेका नेता केन्द्रीय नेतृत्वमा बस्न नपाउने भएका छन्।
पार्टी संगठन विभागको बुधबार बिहान बसेको बैठकले ७० वर्ष नाघेपछि केन्द्रीय कमिटीसहित पार्टीको कुनै पनि कार्यकारी पदमा बस्न नपाउने गरी विधानको मस्यौदा तयार पारेको हो।
केन्द्रीय कमिटीको बुधबारको बैठकमा केन्द्रीय सदस्यलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा ७० वर्षमा पार्टीबाट अवकाश लिने उमेर तोकिएको हो। एमालेका शीर्ष नेतामध्ये अध्यक्ष झलनाथ खनाल ६५, उपाध्यक्ष वामदेव गौतम ६७, संसदीय दलका नेता केपी ओली ६३, माधवकुमार नेपाल, ईश्वर पोखरेल र प्रदीप नेपाल ६२ वर्षका रहेको अन्नपूर्ण पोस्टमा खबर छ ।
खनाल र गौतम उमेरकै कारण नवौं महाधिवेशनपछि अध्यक्ष हुनबाट वञ्चित हुने भएका छन्। अर्का स्थायी समिति सदस्य भरतमोहन अधिकारी ७० वर्ष काटिसकेकाले यसैपटक केन्द्रीय नेतृत्वबाट हट्नेछन्।
नवौं महाधिवेशनमा उपाध्यक्ष गौतम ‘वरिष्ठ उपाध्यक्ष’ मा उम्मेदवार बन्ने घोषणा गरेर प्रचारप्रसार गरिए पनि उक्त पद विधान संशोधन प्रस्तावमा छैन। संगठन विभागका सदस्य रहेका पोलिटब्युरो सदस्य प्रकाश ज्वालाका अनुसार पाँच उपाध्यक्ष र पाँचजना सचिव बनाउने प्रस्ताव मंगलबार तयार पारिए पनि संगठन विभागको बुधबारको बैठकले केही हेरफेर गरी पारित गरेको छ। ज्वालाले तीन उपाध्यक्ष र पाँचजना सचिव राख्ने गरी संशोधन प्रस्ताव पारित गरी वितरण गरिएको जानकारी दिए।














प्रतिक्रिया